साउन १३ नेपाल
वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले कडा आन्दोलनको घोषणा गरेको छ।
संघले सोमबार केन्द्रीय कार्यालयमा बसेको बैठकबाट साउन १३ गते बुधबार देशभरका स्वास्थ्य सेवा आकस्मिक बाहेक बन्द गर्ने निर्णय गरेको हो।
संघले घोषणा गरेका आन्दोलनका कार्यक्रम:
१. साउन १३ गते आइतबार- देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरिने
२. साउन १३ गते बुधबार बिहान १० बजे – काठमाडौँ उपत्यकाभित्रका चिकित्सक तथा स्वास्थ्यकर्मी माइतीघर मण्डलामा भेला भई विरोध प्रदर्शन गर्ने
३. साउन १३ गते – उपत्यका बाहिरका चिकित्सक तथा स्वास्थ्यकर्मीले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने
संघले नारायणी अस्पतालको घटनामा संलग्न दोषीलाई कानुन बमोजिम कारबाही गर्न र चिकित्सक तथा स्वास्थ्यकर्मीको पेशागत सुरक्षा सुनिश्चित गर्न माग गरेको छ। साथै अनावश्यक रूपमा वार्तामा बोलाएर चिकित्सकमाथि दबाब र धम्की दिने काम तत्काल रोक्न प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई आग्रह गरेको छ।
कोशी प्रदेशमा पनि आन्दोलन
यता नेपाल चिकित्सक संघ, कोशी शाखाले पनि केन्द्रीय निर्णय अनुसार साउन १३ गते आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द रहने जनाएको छ।
कोशी शाखाले साउन १३ गते बिहान १० बजे विराटनगरको संघीय कार्यालयमा भेला भई मोरङ जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको छ।
संघले न्याय, चिकित्सकको पेशागत सुरक्षा र सुरक्षित स्वास्थ्य सेवा प्रणाली स्थापनाका लागि सबै चिकित्सक, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई आन्दोलनमा सहयोग गर्न आग्रह गरेको छ।
आन्दोलनबाट सर्वसाधारणलाई पर्न सक्ने असुविधाप्रति क्षमा माग्दै यसको सम्पूर्ण जिम्मेवार नेपाल सरकार नै हुने संघले स्पष्ट पारेको छ।

