साउन १२ नेपाल ।

पछिल्ला दिनहरूमा देशका विभिन्न स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पतालमा कार्यरत कर्मचारीमाथि कुटपिट र दुर्व्यवहारका घटना बढेपछि *स्वास्थ्य तथा जनसंख्या मन्त्रालय*ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयका सह-प्रवक्ता *डा. समिरकुमार अधिकारी*ले आज विज्ञप्ति जारी गर्दै यस्ता घटनामा संलग्न दोषीलाई पत्ता लगाई कानुनी दायरामा ल्याउन सरकारका सम्बन्धित निकायहरूले आवश्यक काम गरिरहेको जानकारी दिएका छन्।

*स्वास्थ्य सेवा अवरुद्ध नगर्न अपिल*
विज्ञप्तिमा मन्त्रालयले स्वास्थ्य सेवा अत्यन्त संवेदनशील, जीवनरक्षक र अत्यावश्यक सेवा भएकोले नागरिकको उपचारमा कुनै अवरोध नहोस् भनेर सबै अस्पतालहरूलाई निर्बाध रूपमा सेवा प्रवाह गर्न अपिल गरेको छ।

“नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारको संरक्षण गर्नु र स्वास्थ्यकर्मीलाई सुरक्षित र सम्मानजनक वातावरणमा सेवा प्रदान गर्न पाउने अधिकारको संरक्षण गर्नु सबै नागरिकको साझा दायित्व हो” मन्त्रालयले भनेको छ।

*सबै निकायलाई सहयोगको आग्रह*
मन्त्रालयले स्वास्थ्य सेवाको संवेदनशीलता, चिकित्सा पेसाको गरिमा र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै सहयोग, सहजीकरण र समन्वय गरिदिन सम्बन्धित सबै निकायहरूसँग आग्रह पनि गरेको छ।

विज्ञप्तिको अन्त्यमा मन्त्रालयले *”स्वास्थ्य सेवा जस्तो अत्यावश्यक सेवा प्रवाहमा सबैले सहयोग गरौँ”* भन्ने नारा समेत दिएको छ।