साउन १२ नेपाल ।
दुई समूहबीच भएको झगडाको समाचार संकलन गर्ने क्रममा पत्रकारको मोटरसाइकल तोडफोड गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ।
महासंघले आज जारी गरेको प्रेस विज्ञप्तिमा साउन ११ गते सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका-३, नयाँहाट अर्थात कप्तानगञ्जमा कोशी प्रदेश कार्यसमितिका सदस्य समेत रहेका पत्रकार लुकमान अन्सारीको मोटरसाइकल तोडफोड भएको जानकारी दिएको छ। यो जानकारी महासंघको कोशी प्रदेश समितिले दिएको हो।
प्रेस स्वतन्त्रता विरोधी घटना
विज्ञप्तिमा महासंघले भनेको छ, “यसरी सञ्चारकर्ममा अवरोध पुर्याउने र त्रास सिर्जना गर्ने घटना अत्यन्तै निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी हो।”
घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन महासंघले सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।
पत्रकारलाई सुरक्षा सतर्कताको अपिल
महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा महासंघले पत्रकारहरूलाई पत्रकार आचारसंहिताप्रति जिम्मेवार रही सुरक्षा सतर्कताका साथ सञ्चारकर्ममा जुट्न हार्दिक अपिल गरेको छ।
साथै महासंघले सुनसरीको देवानगञ्ज घटनाको संवेदनशीलतालाई गम्भीर रूपमा लिन, धार्मिक तथा सामाजिक सद्भाव भड्काउने गतिविधि नगर्न र आम नागरिकको जिउ-धनको सुरक्षाप्रति संवेदनशील बन्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।

