सुनसरी जिल्लाका केही क्षेत्रमा हिजो राति ९ बजेदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यू आदेश आज बिहान ९:१५ बजेदेखि हटाइएको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले आज सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम लगाइएको कर्फ्यू आदेश अर्को सूचना जारी नभएसम्मका लागि खारेज गरिएको जनाएको छ।

कर्फ्यू कुन क्षेत्रमा थियो ?
जिल्ला प्रशासनले तोके अनुसार ४ किल्लाभित्र यो आदेश लागू गरिएको थियो:
• पूर्व: इनरुवा नगरपालिका वडा नं. ३ र ६ को सीमा – महेन्द्र राजमार्ग अन्तर्गतको घोपाली टोल
• पश्चिम: कोशी ब्यारेजको पुल
• उत्तर र दक्षिण: महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रसम्म

कर्फ्यूका बेला तोकिएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न पाइँदैनथ्यो।

जिल्लाका प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्याल ले हस्ताक्षर गरेको सूचनामा कर्फ्यू हटाइएको जानकारी दिइएको छ।