साउन ९ नेपाल ।
सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने कामलाई तीव्रता दिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्राथमिकताका आधारमा बचत फिर्ता सुरु गरेको हो।
समितिले मिति २०८३/०४/०८ मा ५ वटा समस्याग्रस्त सहकारीका जम्मा ४८ जना बचतकर्तालाई प्रति व्यक्ति २५ हजारका दरले जम्मा १२ लाख रुपैयाँ फिर्ता गरेको छ।
कुन कुन सहकारीका कति जनालाई?
१. कान्तिपुर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि. – ३७ जना
२. गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लि. – ४ जना
३. कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लि. – ३ जना
४. आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लि. – २ जना
५. पशुपती सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि. – २ जना
समितिका अनुसार ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक, प्राणघातक रोग लागेका, एकल महिला तथा पूर्ण अपाङ्ग/अशक्त बचतकर्तालाई वार्षिक एकपटक र ५ लाखभन्दा बढी बचत भएकालाई एकपटकमा बढीमा ५० प्रतिशतले नबढ्ने गरी रकम फिर्ता दिइँदै छ।
बचतकर्ताबाट प्राप्त निवेदन र मागदाबीको रुजु गरी तोकिएको प्राथमिकताका आधारमा बचत फिर्ता कार्य नियमित रूपमा गरिने समितिले जनाएको छ। यो काम सहकारी ऐन, २०७४, सर्वोच्च अदालतको आदेश र सरकारको १०० दिने घोषणापत्र बमोजिम भइरहेको छ।

