साउन ९ नेपाल ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिदसम्बन्धी ३ वटा नमुना बोलपत्र कागजात संशोधन गरी आफ्नो वेबसाइटमा राखेको छ।
सार्वजनिक खरिद (दोस्रो संशोधन) ऐन, २०८३ मा भएको व्यवस्था बमोजिम कार्यालयले मिति २०८३/०४/०८ को सचिवस्तरीय निर्णयबाट नमुना बोलपत्र सम्बन्धी कागजातमा संशोधन तथा परिमार्जन गरेको हो।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ७ को उपदफा ३ को खण्ड ख बमोजिम सार्वजनिक निकाय, बोलपत्रदाता, बैंक तथा वित्तीय संस्था लगायत सम्पूर्ण सरोकारवालालाई बोलपत्र सम्बन्धी कागजात तयारी तथा प्रयोग गर्न सहज होस् भनेर यी कागजातहरू परिमार्जन गरिएको कार्यालयले जनाएको छ।
परिमार्जन गरिएका कागजातहरू:
१. राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र, दुई खाम प्रणाली: २० मिलियन रुपैयाँभन्दा माथिका निर्माण कार्यका लागि
२. डिजाइन एण्ड बिल्ड सम्झौताको लागि: राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र, एकल चरण दुई खाम प्रणाली
३. २० मिलियन रुपैयाँसम्मका कामको लागि: राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र, एकल चरण एक खाम प्रणाली
अब सम्बन्धित सबैले परिमार्जित नमुना कागजातहरू सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट www.ppmo.gov.np बाट डाउनलोड गरी प्रयोग गर्नुपर्ने कार्यालयले सूचनामार्फत जानकारी गराएको छ।

