साउन ८ नेपाल ।

जिल्लाभरका मासु पसलहरूमा सरसफाइ र गुणस्तरमा लापरबाही बढेको भन्दै मकवानपुर जिल्ला प्रशासन कार्यालयले सबै मासु व्यवसायीलाई १५ बुँदे मापदण्ड पालना गर्न निर्देशन दिएको छ।

कार्यालयले २०८३।०४।०८ गते शुक्रबार सार्वजनिक गरेको सूचनामा उपभोक्ताबाट गुनासो आएको र अनुगमनका क्रममा पनि स्वच्छ तथा स्वस्थकर मासु बिक्री नभएको पाइएकाले यो व्यवस्था गरिएको उल्लेख छ।

प्रशासनले पालना गर्न भनेका मुख्य मापदण्डहरू:
• सम्बन्धित निकायबाट कानुनबमोजिम अनुमति र दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्ने
• रोगी, शंकास्पद, मरेको वा प्राकृतिक रूपमा मरेको पशुपंक्षीको मासु बिक्री वितरण नगर्ने
• मासुलाई सफा, धुलोरहित, कीरारहित र प्रदूषणमुक्त राख्न जाली र स्वचालित ढोका राख्ने
• मासु काट्ने टेबल, छुरी, अचानो, खुकुरी, दाउ, मेसिन लगायत उपकरण दैनिक सफा गर्ने
• मासु पसलमा निस्कने फोहोर, रगत छुट्टै व्यवस्थापन गर्ने र मासुका भित्री अंग अलग राख्ने
• मासु सम्हाल्ने व्यक्तिले सफा एप्रोन, हेडकभर प्रयोग गर्ने र साबुनपानीले हात धुने
• खुला घाउ, संक्रमण भएको व्यक्तिलाई मासु काट्न र बिक्री गर्न नदिने
• पसलभित्र धुम्रपान, सुर्ती, गुट्खा वा मदिरा सेवन नगर्ने र पुरानो-नयाँ मासु मिसाएर नबेच्ने
• कुहिएको, दुर्गन्धित वा रङ परिवर्तन भएको मासु बिक्री वितरण नगर्ने

सूचनामा माथिका मापदण्ड पालना नगरेमा पशु वधशाला तथा मासु जाँच ऐन २०५, पशु वधशाला तथा मासु जाँच नियमावली २०५७, उपभोक्ता संरक्षण ऐन २०७५ र उपभोक्ता संरक्षण नियमावली २०७६ बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।

त्यसैगरी तोकिएको मापदण्ड नमानेका व्यवसायीबारे जानकारी दिन आम नागरिकलाई पनि प्रशासनले अनुरोध गरेको छ।

सम्पर्क: दूरभाष ०५७-५२०१५१
ठेगाना: जिल्ला प्रशासन कार्यालय, मकवानपुर