साउन ८ नेपाल ।
चाँगुनारायण नगरपालिकाले आ.व. ०८३/८४ का लागि राजस्वको दायरा फराकिलो बनाउन कर छुट तथा सहुलियतको व्यवस्था गरेको छ। नगरपालिकाको १८औं नगरसभाबाट स्वीकृत आर्थिक ऐन २०८३ अनुसार करदाताहरूलाई प्रोत्साहन गर्न यो निर्णय गरिएको हो।
नगरपालिकाले २०८३।०४।०८ गते सार्वजनिक गरेको सूचनामा सम्पत्ति कर र भूमि कर असोज मसान्तभित्र तिर्ने करदाताका लागि वार्षिक कर रकमको १० प्रतिशत छुट दिने उल्लेख छ।
अन्य मुख्य छुट तथा सहुलियतहरू:
• सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन गरिने सबै प्रकारका सिफारिसमा कर छुट
• गम्भीर रोग, दुर्घटना वा महामारीबाट क्षति भएका परिवारलाई तत्काल राहत, अनुदान वा बीमाका लागि गरिने सिफारिसमा कर छुट
• महिला, दलित, अल्पसंख्यक, द्वन्द्वपिडित, लोपोन्मुख, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको नाममा दर्ता हुने सबै प्रकारका व्यवसायमा १० प्रतिशत कर छुट
• आ.व. ०७७/७८ भन्दा अगाडिदेखि सञ्चालन भएका तर दर्ता नभएका उद्योग/व्यवसाय असोज मसान्तसम्म दर्ता गरेमा पुरानो सबै वार्षिक कर र जरिवाना छुट
• आ.व. ०७७/७८ भन्दा अगाडि दर्ता भई नवीकरण नभएका व्यवसायले असोज मसान्तभित्र नवीकरण गरेमा त्यसपछिको मात्र शुल्क लिएर सबै जरिवाना छुट
• १० लाखसम्म पुँजी भएका सम्पूर्ण व्यवसाय सम्बन्धित वडा कार्यालयबाटै दर्ता/नवीकरण हुने
• पहिलेदेखि लिँदै आएको सडकनत्ती शुल्क हटाइएको
• पानी उद्योग र पानी ढुवानीका साधन नगरपालिकामा दर्ता गर्ने व्यवस्था
• साबिकमा काँचो इट्टा उत्पादन तथा बिक्री वितरणका लागि दिँदै आएको अस्थायी अनुमति बन्द
नगरपालिकाले चालु आ.व. देखि करदाताको विवरण सुत प्रणालीमा प्रविष्टि गरिने भएकाले कर बुझाउन आउँदा नागरिकता, बहाल सम्झौता, जग्गाधनी प्रमाणपूर्जा लगायतका कागजात लिएर सम्बन्धित वडा कार्यालय वा नगरपालिकामा उपस्थित हुन करदाताहरूलाई अनुरोध गरेको छ।
सम्पर्क: फोन नं. ६१४८०९
ठेगाना: खरिपाटी, भक्तपुर, बागमती प्रदेश

