साउन ८ नेपाल ।

नेपाल कानून व्यवसायी परिषद्ले आफ्नो बैंक खाता हेरफेर गरी नयाँ खाता विवरण सार्वजनिक गरेको छ। अबदेखि परिषदलाई बुझाउनुपर्ने सबै प्रकारका शुल्क, दस्तुर तथा अन्य रकम तोकिएको एउटै वाणिज्य बैंकको खातामा मात्र जम्मा गर्नुपर्ने भएको छ।

परिषद्ले २०८३ साउन ८ गते सूचना जारी गर्दै अर्थ मन्त्रालयले ल्याएको ‘अतिरिक्त बजेटरी निकायहरूको बैंक खाता, लेखा प्रणाली र वित्तीय प्रतिवेदन व्यवस्थापन कार्यविधि २०८२’ अनुसार अब एउटै वाणिज्य बैंकमा मात्र खाता सञ्चालन गर्नुपर्ने भएकाले यस्तो व्यवस्था गरिएको जनाएको छ।

यसअघि परिषद्को अभिलेख अद्यावधिक, कानून व्यवसायी कार्यालय दर्ता र नवीकरण लगायत सेवामा लाग्ने दस्तुर सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आईएमई बैंकमध्ये जुनसुकै एकमा जम्मा गर्न पाइन्थ्यो।

नयाँ बैंक खाताको विवरण
• बैंकको नाम : सिद्धार्थ बैंक लिमिटेड
• खाताको नाम : नेपाल बार काउन्सिल आम्दानी खाता
• खाता नम्बर : ५५५१२७४००६३
• शाखा : हात्तीसार शाखा

परिषद्ले अब पुरानो खातामा रकम जम्मा नगर्न अनुरोध गरेको छ। रकम अनलाइन, क्यूआर कोड वा बैंक मार्फत जम्मा गर्न सकिनेछ।

रकम बुझाउँदा ध्यान दिनुपर्ने कुरा
१. कैफियतमा रकम बुझाउने व्यक्तिको नाम, अधिवक्ता प्रमाणपत्र नम्बर वा क्रम संख्या र प्रयोजन जस्तै नवीकरण शुल्क, परीक्षा शुल्क स्पष्ट लेख्नुपर्ने।
२. रकम बुझाइसकेपछि पाइने डिजिटल रसिद वा भौचर जोगाएर राखी सम्बन्धित शाखामा बुझाउनुपर्ने।
३. सकभर सेवाग्राहीले आफ्नै खाताबाट रकम बुझाउनुपर्ने।

यो सूचना परिषद्का सचिव श्रीराम खनालले जारी गरेका हुन्।

सम्पर्क ठेगाना : कुपण्डोल, ललितपुर
दूरभाष : ०१-५२६१८४, ०१-५२६१९६४
विद्युतीय पत्र : info@nepalbarcouncil.org.np
जालपृष्ठ : http://www.nepalbarcouncil.org.np