साउन ७ नेपाल ।
राष्ट्रिय परिचयपत्रसँग सरकारी सेवा आबद्ध भएपछि सेवा लिनेको चाप बढेको भन्दै सुनसरी जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र व्यवस्थापन इकाईबाट प्रदान गरिने सेवा अब बिहान ७ बजेदेखि नै सञ्चालन गर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले मिति २०८३।०४।०७ मा सूचना जारी गर्दै सेवाग्राहीको सुविधाका लागि उक्त व्यवस्था गरिएको जनाएको छ।
सूचनामा भनिएको छ, “नागरिकले लिने सरकारी सेवाहरुलाई राष्ट्रिय परिचयपत्रसँग आबद्धता गराएसँगै यस कार्यालयको राष्ट्रिय परिचयपत्र व्यवस्थापन इकाईमा सेवाग्राहीको चाप अत्यधिक बढ्न गएको छ।”
यसैले सेवाग्राहीको सहजताका लागि मिति २०८३।०४।०८ गते शुक्रबार बिहान ७.०० बजेदेखि नै राष्ट्रिय परिचयपत्र शाखाबाट सेवा सुचारु गरिने भएको हो।
राष्ट्रिय परिचयपत्र बनाउन, नवीकरण गर्न र अन्य सेवा लिन आउने सेवाग्राहीहरुलाई तोकिएको समयभन्दा अगाडि नै पुगेर सेवा लिन प्रशासनले अनुरोध गरेको छ।
सुनसरी जिल्ला प्रशासन कार्यालयका प्रशासनिक अधिकृतको हस्ताक्षरसहित जारी सूचनामा थप जानकारीका लागि ०२५-५६५१५१, ५६५०२२ मा सम्पर्क गर्न सकिने उल्लेख छ।

