साउन ७ नेपाल ।
बुढानीलकण्ठ नगरपालिकाले आर्थिक ऐन २०८३ अनुसार चालु र बक्यौता कर तिर्ने करदाताहरुलाई छुट दिने भएको छ। नगर कार्यपालिकाको कार्यालय हात्तीगौडाले मिति २०८३/०४/०७ मा सार्वजनिक सूचना जारी गर्दै समयमै कर बुझाउन आग्रह गरेको छ।
नगरपालिकाले जारी गरेको सूचना अनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को सम्पत्ति कर, भूमिकर/मालपोत, व्यवसाय कर र घरजग्गा बहाल कर एकमुष्ट तिरेमा १५ प्रतिशत छुट पाइनेछ। यो छुट चालु आर्थिक वर्षको प्रथम चौमासिकसम्म तिर्ने करदाताका लागि मात्र लागू हुनेछ।
यस्तै बक्यौता करमा पनि ठूलो छुटको व्यवस्था गरिएको छ।
• आर्थिक वर्ष २०८१/०८२ सम्मको बक्यौता सम्पत्ति कर, भूमिकर, व्यवसाय कर र घरजग्गा बहाल कर चालु वर्षको प्रथम चौमासिकसम्म बुझाएमा जरिवानामा ५० प्रतिशत छुट दिइनेछ।
• आर्थिक वर्ष २०८२/०८३ को बक्यौता सोही अवधिभित्र बुझाएमा जरिवाना पूर्ण छुट हुनेछ।
साथै नगरपालिकाले सामाजिक समावेशीकरणलाई ध्यानमा राख्दै एकल महिला, अपाङ्गता भएका व्यक्ति र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक द्वारा सञ्चालित व्यवसायको दर्तामा लाग्ने कुल रकममा ५० प्रतिशत छुट दिने व्यवस्था पनि गरेको छ।
नगरपालिकाले करदाताहरुलाई छुटको सुविधा लिन समयमै कर बुझाउन अनुरोध गरेको छ। थप जानकारीका लागि नगरपालिकाको वेबसाइट http://www.budhanilkanthamun.gov.np मा हेर्न सकिनेछ।
सूचनामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बरालको हस्ताक्षर रहेको छ।

