साउन ६ नेपाल ।
जिल्ला प्रशासन कार्यालय, चितवनले राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको अत्यधिक चाप बढेपछि सेवा समय बढाएको छ । कार्यालयले मिति २०८३ साउन ७ गतेदेखि बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म सेवा दिने व्यवस्था मिलाएको हो ।
गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय चितवनले बुधबार सूचना प्रकाशित गर्दै आर्थिक वर्षको सुरुवातदेखि नै फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीको चाप बढेको जनाएको छ । नयाँ व्यवस्थाअनुसार दैनिक करिब ७५० जनालाई टोकन प्रणालीबाट सेवा दिइनेछ । कार्यालयले आफ्नो पालोमा धैर्य गरेर बस्न पनि सेवाग्राहीलाई अनुरोध गरेको छ ।
सूचनामा तीन वटा मुख्य कुरा उल्लेख गरिएको छ:
१. सेवा समय बढाइयो: २०८३ साउन ७ गतेबाट दैनिक बिहान ८ देखि साँझ ७ बजेसम्म सेवा सञ्चालन हुनेछ ।
२. कार्ड वितरण तत्काल रोक: पहिले नै परिचयपत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राहीलाई नम्बरकै आधारमा काम हुने भएकाले केही दिनका लागि कार्ड वितरण कार्य नहुने कार्यालयले जनाएको छ ।
३. Approve मा ढिलाइ: Enrollment अर्थात फोटो खिचेपछि विभागबाट सिस्टम अपग्रेडका कारण Approve हुन ढिलाइ भएको छ । क्रमशः Approve हुँदै जाने भएकाले यसका लागि कार्यालयमा पटक-पटक धाउनु नपर्ने कार्यालयको भनाइ छ ।
सूचना सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमले जारी गरेका हुन् ।

