साउन ६ नेपाल ।

कमलामाई नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को आन्तरिक लेखापरीक्षणका लागि नगरपालिकाभित्रका सबै ७१ वटा सामुदायिक विद्यालयलाई आवश्यक वित्तीय विवरण तथा कागजात अद्यावधिक गर्न निर्देशन दिएको छ ।

नगर कार्यपालिकाको कार्यालय, सिन्धुलीमाढीले मिति २०८३ साउन ६ गते सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई पत्र पठाउँदै नगरपालिकाको वार्षिक आन्तरिक लेखापरीक्षण कार्यक्रम बमोजिम अन्तिम लेखापरीक्षण गर्न सहजीकरणका लागि कागजात तयार राख्न अनुरोध गरेको हो ।

पत्रमा लेखापरीक्षणलाई प्रभावकारी र व्यवस्थित बनाउनका लागि आय-व्यय विवरण, बैंक हिसाब मिलान विवरण, नगदी किताब, गोश्वारा भौचर, बजेट-कार्यक्रमको विवरण, जिन्सी अभिलेख, तलब-भत्ता तथा सामाजिक सुरक्षा सम्बन्धी अभिलेख, खरिद योजना, विद्यालय व्यवस्थापन समितिको निर्णय पुस्तिका लगायत १२ वटा शीर्षकका कागजात माग गरिएको छ ।

नगरपालिकाले लेखापरीक्षण अवधिभर प्रधानाध्यापक, लेखा हेर्ने कर्मचारी वा सम्बन्धित जिम्मेवार व्यक्ति अनिवार्य उपस्थित हुनुपर्ने जनाएको छ । माग गरिएका कागजात अपूर्ण वा उपलब्ध नभएमा त्यसबाट सिर्जित जिम्मेवारी सम्बन्धित विद्यालयको हुने चेतावनी पनि दिइएको छ ।

प्रत्येक विद्यालयको लेखापरीक्षण मिति तथा समय भने भदौ महिनाबाट छुट्टै तालिका बनाएर जानकारी गराइने प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारीद्वारा जारी पत्रमा उल्लेख छ ।

नोट: यो सूचना नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा र सूचना शाखामार्फत सबै विद्यालयमा पठाइएको छ ।