असार ३२ नेपाल ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबै लाभग्राहीलाई परिचयपत्र नवीकरण गर्न निर्देशन दिएको छ।

मन्त्रालयले २०८३ असार ३१ गते सबै स्थानीय तहलाई पत्र पठाउँदै असोज मसान्तभित्र नवीकरण गरिसक्न भनेको हो।

के-के गर्नुपर्छ ?
१. नवीकरण अनिवार्य: सामाजिक सुरक्षा नियमावली २०८२ को नियम ९ बमोजिम सबै लाभग्राहीले असोज मसान्तभित्र सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्नुपर्नेछ।
२. बायोमेट्रिक अनिवार्य: सबै लाभग्राहीले आफ्नो वडा कार्यालयमा स्वयम् उपस्थित भई राष्ट्रिय परिचय नम्बरको आधारमा औँला छाप वा आइरिस बायोमेट्रिक गराउनुपर्नेछ। अस्थायी बसोबास गरेको वडा कार्यालयबाट पनि गराउन सकिनेछ।
३. २०८४ असारसम्म भत्ता सुनिश्चित: यसरी नवीकरण गरेका लाभग्राहीले २०८४ असार मसान्तसम्मको सामाजिक सुरक्षा भत्ता पाउने सुनिश्चित हुनेछ।

केही सहजता पनि
मन्त्रालयले नवीकरणको समयमा वडा कार्यालयमा भिडभाड कम गर्न आवश्यक सहजीकरण गर्न पनि स्थानीय तहलाई भनेको छ।

राष्ट्रिय परिचय नम्बर नचाहिने को-को ?
नोटमा भनिए अनुसार १६ वर्ष उमेर पूरा नभएको बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने अशक्त र ९० वर्ष माथिका जेष्ठ नागरिकलाई लाभग्राहीमा सूचिकृत हुँदा राष्ट्रिय परिचय नम्बर अनिवार्य हुने छैन।

थप जानकारीका लागि socialsecurity@mowcsc.gov.np वा फोन नं. ०१-४२००२७५ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।
– हेमन्त खबर