असार ३१ नेपाल ।

वैदेशिक रोजगार न्यायाधिकरणमा बहस गरी निस्कने क्रममा एक वकिलमाथि विपक्षी समूहले अभद्र व्यवहार र भौतिक आक्रमणको प्रयास गरेको घटनाप्रति उच्च अदालत बार एशोसिएसन पाटनले गम्भीर ध्यानाकर्षण जनाएको छ।

एशोसिएसनले २०८२ असार ३१ गते विज्ञप्ति जारी गर्दै २०८२ असार ३० गते दिउँसो २:३० बजेको घटना प्रति आपत्ति जनाएको हो।

के भएको थियो त ?
विज्ञप्ति अनुसार एशोसिएसनका कार्यसमिति सदस्य अधिवक्ता छन्द प्रसाद आचार्य आफ्नो पक्षको प्रतिनिधित्व गर्दै वैदेशिक रोजगार न्यायाधिकरण, बबरमहलमा पेशागत आचारसंहिताको अधिनमा रही बहस पैरवी सकेर इजलासबाट निस्कँदै थिए।

त्यही बेला न्यायाधिकरण परिसरमै मुद्दाका विपक्षी तर्फका अपरिचित व्यक्तिहरूको समूहले “हाम्रो विपक्षीको तर्फबाट किन बहस गरेको?” भन्दै अनुचित व्यवहार, अमर्यादित शब्द र गालीगलौज गर्दै भौतिक आक्रमणको प्रयास गरेको एशोसिएसनको दाबी छ।

एशोसिएसनको माग
बारले यस्तो घटनालाई लोकतन्त्र र कानुनी राज्यको अवधारणा विपरीत भएको भन्दै घटनाको सत्य तथ्य जाँच गरी दोषी माथि कानुन बमोजिम अविलम्ब कारवाही गर्न माग गरेको छ।

साथै, आगामी दिनमा यस्ता अराजक घटना नदोहोरियोस् र कानुन व्यवसायीको सुरक्षामा आँच नआओस् भन्ने वातावरण बनाउन नेपाल सरकार, सर्वोच्च अदालत प्रशासन, वैदेशिक रोजगार न्यायाधिकरण, नेपाल बार एशोसिएसन र नेपाल बार काउन्सिल लगायतको गम्भीर ध्यानाकर्षण गराएको छ।

एशोसिएसनले मुद्दामा पक्षको प्रतिनिधित्व गरेकै कारण कानून व्यवसायी असुरक्षित हुने अवस्था आउन नहुने भन्दै घटनाको घोर निन्दा, भर्त्सना र खेद समेत व्यक्त गरेको छ।

विज्ञप्तिमा एशोसिएसनका सचिव अधिवक्ता प्रबल शर्माले हस्ताक्षर गर्नुभएको छ।