असार ३० नेपाल ।

नयाँ सरकार गठन भएयता नेपालको पुँजी बजार लगातार ओरालो लागेपछि आम लगानीकर्ताले ६ खर्बभन्दा बढी रकम गुमाएका छन्।

नेपाल सेयरधनी संघ NESA ले आज प्रेस विज्ञप्ति जारी गर्दै पुँजी बजार बचाउन तत्काल कदम नचाले आन्दोलनमा जाने चेतावनी दिएको छ।

६ खर्ब गुम्यो, यो बजेटको २७% भन्दा बढी
संघका अनुसार नयाँ सरकार गठन हुँदा २९५० को आसपासमा रहेको नेप्से परिसूचक अहिले २५७० को हाराहारीमा झरेको छ।

यस अवधिमा बजारको निरन्तर गिरावटसँगै आम लगानीकर्ताले ६ खर्बभन्दा बढी पुँजी गुमाइसकेका छन्। संघले भनेको छ, “यो गुमेको रकम देशको वार्षिक बजेटको २७% भन्दा बढी रकम हो।”

संघले पुँजी बजारलाई “अर्थतन्त्रको ऐना” भनेको छ। “पुँजी बजारलाई बचाउन सकिएन भने आम लगानीकर्तालाई पनि बचाउन सकिँदैन” भन्दै संघले सरकारको ध्यानाकर्षण गराएको छ।

संघका ४ वटा मुख्य माग
दोस्रो बजारमा लगानीकर्तामा निराशा छाएको अवस्थामा संघले अर्थमन्त्री, धितोपत्र बोर्ड र नियमक निकायसँग तत्काल छलफल गर्न माग गरेको छ।

संघका मागहरू:
१. त्काल छलफल र कार्ययोजना: बजारसँग सम्बन्धित सरोकारवालालाई बोलाएर समस्याको समाधानका उपाय खोज्नुपर्ने।
२. कर र नीतिगत सुधार: सरकारले करका दर परिवर्तन गरी साउन १ गतेदेखि लागू गर्ने तयारी गरेकोले, बजारलाई बचाउने उपकरण पनि सोही दिनदेखि लागू गर्नुपर्ने।
३. संस्थागत र गैरआवासीय लगानी: संस्थागत लगानीकर्तालाई सहज रूपमा दोस्रो बजारमा लगानी गर्ने वातावरण र गैरआवासीय नेपालीलाई दोस्रो बजारमा ल्याउनुपर्ने।
४. भरोसा जोगाउने: अब पनि लगानीकर्ताले सम्पत्ति गुमाउनुपर्यो भने नेपाली लगानीकर्ताको भरोसा पूर्ण रूपमा टुट्ने।

“धैर्यताको बाँध टुट्यो भने आन्दोलन”
संघका अध्यक्ष जि.एस. पाण्डेले विज्ञप्तिमा भनेका छन्, “अन्यथा लगानीकर्ताको धैर्यताको बाँध टुट्न गई सशक्त आन्दोलनको घोषणा गर्ने कुरासमेत जानकारी गराउँछौं।”

बजार घट्दा सर्वसाधारण लगानीकर्ता सबैभन्दा बढी मारमा परेको भन्दै संघले सरकारलाई तत्काल बजार मैत्री नीति ल्याउन दबाब दिएको छ।