असार २९ नेपाल ।
नेपाल सरकार, परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले नयाँ प्रणालीमार्फत राहदानी सेवा प्रवाह आजदेखि सुरु गरेको छ।
विभागले आज प्रेस विज्ञप्ति जारी गर्दै मिति २०८३ असार २९ अर्थात १३ जुलाई २०२६ बाट नयाँ प्रणाली सञ्चालनमा आएको जानकारी दिएको छ। नयाँ प्रक्रियाबाट केही आवेदकहरूले राहदानी प्रक्रिया पूरा गरी आजैबाट सेवा समेत लिइसकेका छन्।
कसरी आवेदन दिने ?
विज्ञप्तिमा नयाँ राहदानी लिन वा म्याद सकिएको राहदानी नवीकरण गर्न चाहनेले आफ्नो स्थायी बसोबास रहेको ईलाका प्रशासन कार्यालय, जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग त्रिपुरेश्वर वा विदेशस्थित नेपाली नियोगहरूबाट पहिलेकै जस्तै सेवा लिन सक्ने उल्लेख छ।
३ महिना स्थिरीकरण अवधि
विभागले यो नयाँ प्रणालीको स्थिरीकरण अवधि Stabilization Period ३ महिनासम्म रहने जनाएको छ।
यस अवधिमा केही समय अपेक्षित सामान्य प्राविधिक समस्या आउन सक्ने भए पनि राहदानी सेवा सहज, नियमित र सुचारु रहने अपेक्षा गरिएको विज्ञप्तिमा भनिएको छ।
थप जानकारी कहाँ पाइन्छ ?
यस सम्बन्धमा थप जानकारी विभागको आधिकारिक वेबसाइट nepalpassport.gov.np बाट समेत लिन सकिने विभागले जनाएको छ।

