असार २९ नेपाल ।
भक्तपुरस्थित कमेरोटार जग्गा एकीकरण आयोजनाले ठेकेदार कम्पनीको लापरबाहीका कारण आयोजना प्रभावित भएको भन्दै ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।
आयोजनाले आज २०८३/०३/२९ मा सूचना प्रकाशित गर्दै ठेकेदारको गम्भीर लापरबाहीका कारण सडक स्तरोन्नति, ढल, खानेपानी र विद्युत लाइनको काम प्रभावित भएको जनाएको छ।
के हो समस्या?
सूचना अनुसार ठेकेदार श्री श्रेष्ठ/नागार्जुन /मुडभरी एण्ड जोशी जे.भी., कमलपोखरी, काठमाडौंले KLPP02/075/076 नम्बरको ठेक्का लिएको थियो।
यसमा Road Upgrading, Storm Water Drainage, Water Supply Network and Electricity HT/LT line Works पर्छ।
सम्झौता मिति २०७६/१०/०१ मा भएको यो काम म्याद थप गरेर २०८२/१२/३० सम्म सक्नुपर्ने थियो। तर आयोजना र उपभोक्तासहितको उपस्थितिमा पटक-पटक छलफल गरेर म्याद थप्दा पनि ठेकेदारले काममा तदारुकता नदेखाएको आयोजनाको आरोप छ।
के कारबाही हुन्छ?
आयोजनाले मिति २०८३/०३/०४ मा ३ दिनभित्र उपस्थित हुन र १० दिनभित्र जनशक्ति र सामग्री व्यवस्थापन गरेर काम सुरु गर्ने लिखित प्रतिबद्धता मागेको थियो। तर ठेकेदार उपस्थित नभएको र काम पनि अलपत्र पारेको हुँदा अहिले ७ दिनभित्र स्पष्टीकरण माग गरिएको छ।
आयोजनाका अनुसार तोकिएको समयभित्र चित्तबुझ्दो स्पष्टीकरण नआएमा सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ अनुसार:
१. ठेक्का सम्झौता तोड्ने
२. कालोसूचीमा राख्ने
३. जमानत/धरौटी जफत गर्ने
४. बाँकी काम र सुरक्षा खर्च सरकारी बाँकी सरह असुल गर्ने
सेवाग्राही आक्रोशित
कमेरोटार क्षेत्रका स्थानीयले वर्षौँदेखि सडक, ढल र खानेपानीको काम नहुँदा हैरानी भएको गुनासो गर्दै आएका थिए। आयोजनाको यो सूचनापछि अब कारबाही अघि बढ्ने अपेक्षा गरिएको छ।

