असार २९ नेपाल ।
लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय, दाङले सवारी चालक अनुमति पत्र अर्थात् लाइसेन्स सम्बन्धी अधिकांश सेवा अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको छ।
कार्यालयले आज २०८३/०३/२९ मा जारी गरेको सूचनामा केन्द्रीय सर्भरमा समस्या आएका कारण सेवा प्रवाहमा अवरोध भएको जनाएको छ।
कुन-कुन सेवा बन्द भए?
सूचना अनुसार लाइसेन्स वितरण बाहेकका सबै सेवा हाललाई रोकिएको छ। स्थगित भएका सेवाहरु:
१. नयाँ दर्ता
२. वर्ग थप दर्ता
३. लाइसेन्स नवीकरण
४. राजश्व भुक्तानी
किन रोकियो त?
कार्यालयले यातायात व्यवस्था विभाग, मीनभवन काठमाडौंबाट प्राप्त जानकारी अनुसार सवारी चालक अनुमति पत्र दर्ता प्रणाली केन्द्रीय सर्भर EDLVRS मा समस्या आएको र सुधारको काम भइरहेको बताएको छ।
कार्यालयले प्रणालीमा सुधार भएपछि मात्रै पुन: सेवा सुचारु गरिने जनाएको छ। यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कार्यालयले क्षमाप्रार्थी पनि भएको छ।
सेवाग्राहीलाई के गर्ने?
अहिले लाइसेन्स बुझ्न जान मिल्ने छ तर नयाँ फारम, नवीकरण र राजश्व तिर्ने काम भने रोकिएको छ। कार्यालयले अर्को सूचना प्रकाशित नभएसम्म कुर्न आग्रह गरेको छ।
पछिल्लो समय देशभर नै EDLVRS सर्भरमा समस्या देखिएर लाइसेन्स सम्बन्धी सेवा प्रभावित हुँदै आएको छ। यसले दैनिक सयौँ सेवाग्राहीलाई असर परेको छ।

