असार २९ नेपाल ।

विभिन्न सञ्चारमाध्यमको कार्यालय अगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरी पत्रकारलाई आतंकित बनाउने प्रयास भएकोप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ।

महासंघले आज जारी गरेको प्रेस विज्ञप्तिमा आज बिहान ७ बजेदेखि नै काठमाडौंका तीनवटा प्रमुख सञ्चारगृहको गेटमा शंकास्पद गाडी पार्किङ गरी आवतजावतमा अवरोध गरिएको उल्लेख छ।

कहाँ-कहाँ अवरोध भयो?
महासंघका अनुसार:
१. तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन
२ नयाँबानेश्वरको अनलाइन खबर
३. मध्यबानेश्वरस्थित हिमालय टेलिभिजन

यी सबै ठाउँको गेटमै शंकास्पद गाडी पार्किङ गरी कार्यरत पत्रकारलाई सञ्चारकर्ममा जान अवरोध र आतंक सिर्जना गरिएको महासंघको दाबी छ।

महासंघको माग
महासंघले यस घटनालाई “निन्दनीय र रहस्यमय” भन्दै तत्काल ३ वटा माग अघि सारेको छ:

१. त्काल अबरोध हटाउनु – सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा गर्न सम्बद्ध निकायसँग जोडदार माग
२. छानबिन र कारबाही – सञ्चारमाध्यम र पत्रकारको अधिकार उपभोगमा अवरोध पुर्याउने दोषीमाथि कानुनी कारबाही
३. सुरक्षा समन्वय – अवरोध हटाउन महासंघ आफैँ पनि सुरक्षा निकायसँग समन्वय गरिरहेको जानकारी

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षामाथि आघात पुग्ने गरी गरिएको यो कार्यप्रति आपत्ति जनाइएको छ।

पछिल्लो समय सञ्चारमाध्यम र पत्रकारमाथि हुने धम्की तथा अवरोधका घटना बढ्दै गएका बेला महासंघको यो विज्ञप्ति आएको हो।