असार २७ नेपाल ।

किर्तिपुरस्थित होल्डिङ सेन्टरमा शान्तिपूर्ण रूपमा पुगेका युवा र स्वयंसेवकमाथि प्रहरीले अभद्र व्यवहार, गालीगलौज र कुटपिट गरेको भन्दै Gen Z Movement Alliance ले गम्भीर आपत्ति जनाएको छ।

गठबन्धनले मिति २०८३ असार २७ मा जारी गरेको प्रेस विज्ञप्तिमा वर्षाका कारण डुबानमा परेको होल्डिङ सेन्टरमा विस्थापित र सुकुम्बासी परिवारको अवस्था बुझ्न र सहयोग पुगाउन गएका नागरिकलाई प्रहरीले कानुनी आधारबिनै पक्राउ गरेको उल्लेख छ।

को-को परे पक्राउमा ?
विज्ञप्ति अनुसार माजिद अन्सारी, सरिश्मा थापा, नेल्सन घटानी लगायतलाई स्पष्ट कानुनी आधारबिना नै पक्राउ गरिएको छ।

संविधानको उल्लंघन भयो: Gen Z
Gen Z Movement Alliance ले नागरिकको अवस्था अनुगमन गर्नु, मानविय सहयोग गर्नु र राज्यका कार्यप्रति प्रश्न उठाउनु अपराध नहुने बताएको छ।
“नेपालको संविधानले प्रत्येक नागरिकलाई शान्तिपूर्ण भेला हुने, प्रदर्शन गर्ने, आफ्नो विचार तथा अभिव्यक्ति राख्ने मौलिक अधिकार दिएको छ। ती अधिकार प्रयोग गरिरहेका नागरिकमाथि राज्य शक्तिको प्रयोग गरी दमन गर्नु लोकतान्त्रिक मूल्यमान्यता र मानवअधिकारमाथिको प्रत्यक्ष आक्रमण हो” विज्ञप्तिमा भनिएको छ।

५ बुँदे माग
गठबन्धनले सरकारसँग ५ बुँदे माग अघि सारेको छ:

१. रिहाइ: माजिद अन्सारी, सरिश्मा थापा, नेल्सन घटानी लगायत पक्राउ परेकालाई बिना शर्त तत्काल रिहा गरियोस्।
२. छानबिन: किर्तिपुर होल्डिङ सेन्टरमा भएको प्रहरी दमन, कुटपिट तथा गैरकानुनी पक्राउको स्वतन्त्र र तत्काल छानबिन गरी दोषीमाथि कारबाही गरियोस्।
३. अधिकारको सम्मान: शान्तिपूर्ण भेला, प्रदर्शन र मानविय सहायता गर्ने नागरिकको संवैधानिक अधिकारको पूर्ण सम्मान गरियोस्।
४. सेवा सुविधा: विस्थापित परिवारको लागि होल्डिङ सेन्टरमा मानवोचित आवास, खाना, स्वास्थ्य र आधारभूत सेवा तत्काल व्यवस्था गरियोस्।
५. संवाद: जबर्जस्ती उठिबास र बल प्रयोगको नीति अन्त्य गरी प्रभावित समुदायसँग संवादबाट दिगो समाधान खोजियोस्।

निष्कर्षमा Gen Z ले “लाठी, गिरफ्तारी र दमनले सत्य र न्यायको आवाज दबाउन सक्दैन” भन्दै घटनाको निरन्तर निगरानी गर्ने र न्यायका लागि आवाज उठाइरहने चेतावनी दिएको छ।