असार २७ नेपाल ।
विपद्सम्बन्धी सूचना, गुनासो र सुझाव दिने सरकारी टोल फ्री नम्बर परिवर्तन भएको छ।
गृह मन्त्रालयले मिति २०८३/०३/२६ मा जारी गरेको प्रेस विज्ञप्ति अनुसार अब नागरिकले विपद्को जानकारीका लागि ११४९ को सट्टा १२३४ मा फोन गर्नुपर्ने भएको छ।
नयाँ नम्बर २०८३/०३/२६ बाटै सञ्चालनमा आइसकेको छ।
किन परिवर्तन गरियो त ?
मन्त्रालयका अनुसार पहिलेको ११४९ नम्बर केन्द्रीयस्तरबाट मात्र सम्बोधन हुने गर्दथ्यो। तर विपद्को अवस्थामा नागरिकले जिल्लास्तरकै सहयोग छिटो पाउनुपर्ने भएकाले नम्बर परिवर्तन गरेर जिल्ला-जिल्लामै रुटिङ हुने व्यवस्था मिलाइएको हो।
अब १२३४ मा फोन गर्दा फोन सिधै सम्बन्धित जिल्लाको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र DEOC मा जानेछ।
काठमाडौं, ललितपुर र भक्तपुरका लागि भने फोन राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र NEOC, सिंहदरबारमा रुटिङ हुनेछ। बाँकी ७४ जिल्लाको हकमा सम्बन्धित जिल्लाकै DEOC बाट जवाफ पाइनेछ।
२४ सै घण्टा सेवा
सरकारले मन्त्रिपरिषद्को २०८२/१२/१३ को निर्णय अनुसार ७ वटै जिल्लाको आपत्कालीन कार्यसञ्चालन केन्द्रमा २४ सै घण्टा सञ्चालन हुने गरी विपद् कल सेन्टर स्थापना गरिसकेको छ।
गृह मन्त्रालयका प्रवक्ता सह-सचिव आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा नागरिकलाई विपद्सम्बन्धी सरकारले जारी गर्ने एडभाइजरी अनिवार्य पालना गर्न र सतर्क रहन पनि आग्रह गरिएको छ।

