असार २७ नेपाल ।

प्रेस काउन्सिल नेपालले देशभरका पत्रपत्रिकाको यथार्थ छपाइ र वितरण संख्या उपलब्ध गराउन निर्देशन दिएको छ।

काउन्सिलको शाखा कार्यालयले मिति २०८३/०३/२६ मा जारी गरेको पत्रमा आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को पत्रपत्रिकाको छपाइ तथा वितरणको एकिन संख्या ७ दिनभित्र उपलब्ध गराउन आग्रह गरेको हो।

काउन्सिलका शाखा अधिकृत विष्णु शर्मा लम्सालद्वारा हस्ताक्षरित पत्रमा पत्रकारिताको पेशागत आचरण कायम राख्दै स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकासका लागि यो विवरण आवश्यक भएको उल्लेख छ।

किन मागियो विवरण ?
पत्रमा प्रेस काउन्सिल ऐन २०४८ को दफा १० र ११ तथा प्रेस काउन्सिल कार्यव्यवस्था नियमावली २०४९ को नियम ५ र ६ अनुसार पत्रपत्रिका वितरण सम्परीक्षण समितिले पत्रपत्रिकाको वितरण स्थितिको आधारमा प्रकाशन संख्या निर्धारण गर्ने र वर्गीकरण गर्ने व्यवस्था रहेको जनाइएको छ।

काउन्सिलले पत्रपत्रिका वितरण सम्परीक्षणको मापदण्ड २०६६ अनुसार पत्र तथा बजार निरीक्षण, केही जिल्लामा अनुगमन र प्रकाशकहरूसँगको छलफलमा प्रकाशन र पुष्टि हुने प्रमाणमा भिन्नता भेटिएको जनाएको छ।

त्यसैले काउन्सिलमा पेस गरिएको फाराम र यथार्थ स्थितिमा फरक नपर्ने गरी सबै प्रकाशकलाई छपाइ र वितरणको एकिन संख्या बुझाउन भनिएको छ।

वर्गीकरणको आधार बन्ने
उक्त विवरणका आधारमा पत्रपत्रिकाको वर्गीकरण गरिने काउन्सिलले जनाएको छ। वर्गीकरणले सरकारी विज्ञापन वितरण र अन्य सुविधा निर्धारणमा प्रभाव पार्ने भएकाले यो विषयलाई प्रकाशकहरूले गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ।

थप जानकारीका लागि काउन्सिलले presscouncilabcnepal@gmail.com मा सम्पर्क गर्न पनि भनेको छ।