असार २६ , नेपाल ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मिति असार २५ गते त्रिपुरेश्वरस्थित यातायात विभाग अगाडि भएको आत्मदाह प्रयासको घटनालाई ट्राफिक जरिवानासँग जोडेर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा फैलिएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कार्यालयले आज विज्ञप्ति जारी गर्दै सो घटना र ट्राफिक प्रहरीको कारबाहीबीच कुनै सम्बन्ध नभएको स्पष्ट पारेको छ।
के भएको थियो घटना?
मुगु जिल्ला, सोरु गाउँपालिका-१ घर भएका २५ वर्षीय गणेश नेपालीले असार २५ गते त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए।
सोही घटनालाई जोडेर ट्राफिक प्रहरीले जरिवाना तिराएको कारणले आत्मदाहको प्रयास गरेको भन्ने आशयका सामग्री विभिन्न माध्यममा सम्प्रेषण भएका थिए।
ट्राफिक प्रहरीको भनाइ के छ?
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ:
१. जरिवाना गरिएको थिएन: घटनास्थलको वस्तुस्थिति र प्रारम्भिक छानबिनका क्रममा ट्राफिक प्रहरीद्वारा निजलाई कुनै पनि प्रकारको जरिवाना नगरेको पुष्टि भएको छ।
२. सम्बन्ध छैन: ट्राफिक कारबाहीसँग यस घटनाको कुनै पनि सम्बन्ध नरहेको तथ्य स्पष्ट पार्न चाहन्छौं।
३. अनुसन्धान जारी: घटनाको वास्तविक कारणबारे सम्बन्धित अनुसन्धान अधिकारीहरूबाट कानुनी रूपमा अनुसन्धान अगाडि बढिसकेको छ।
प्रहरीको अपिल
विज्ञप्तिमा सत्यतथ्य नबुझी, आधिकारिक पुष्टि बिना र सुरक्षा निकायको नाम जोडेर सामग्री सम्प्रेषण गर्दा आम नागरिकमा भ्रम सिर्जना हुने भएकोले यस्ता अफवाहको पछि नलाग्न अनुरोध गरिएको छ।
अनुसन्धानको वस्तुनिष्ठ निष्कर्ष नआउँदै समाजमा भ्रम फैलाउने खालका कपोलकल्पित समाचार सम्प्रेषण नगर्न र आधिकारिक तथ्यलाई मात्र आधार मान्न आम सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र सर्वसाधारण सबैमा हार्दिक अपिल गरिएको छ।

