असार २६ नेपाल ।
योङ कम्युनिस्ट लिग, नेपाल वाइसीएलले हिजो काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरी निधन भएका मुगुका गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। सङ्गठनले अत्यधिक ट्राफिक जरिवानाका कारण घटना भएको भन्दै सरकारसँग जरिवाना पुनर्विचार गर्न जोडदार माग गरेको छ।
वाइसीएल केन्द्रीय समितिले आज शोक वक्तव्य जारी गर्दै मृतकका परिवारप्रति समवेदना पनि व्यक्त गरेको छ।
वाइसीएलले के भन्यो?
वक्तव्यमा भनिएको छ, हिजो दिउँसो काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा पासपोर्ट लिन जाँदा महानगर प्रहरी र ट्राफिक प्रहरीले बाइकको ह्वील लक गरी नालायक सरकारको निर्णय अनुसारको अत्याधिक ट्राफिक जरिवाना सहन नसकी पठाओ चालक मुगु जिल्ला सोरु गाउँपालिका-१ का २५ वर्षीय गणेश नेपालीले आत्मदाह प्रयास गरी गम्भीर घाइते भई उपचारको क्रममा निधन भएको दुःखद घटनाले सङ्गठनलाई मर्माहत बनाएको छ।
सङ्गठनले घटनाका लागि नालायक खराने सरकारलाई जिम्मेवार ठहराएको छ।
३ बुँदे माग र आरोप
१. जरिवाना पुनर्विचार: वाइसीएलले सरकारले ट्राफिक जरिवानालाई विदेशीको देखासिकी गरेको आरोप लगाउँदै नेपालको भौगोलिक र आर्थिक अवस्था अनुसारको ट्राफिक जरिवानालाई पुनर्विचार गर्न माग गरेको छ।
२. सरकारप्रति आक्रोश: पुँजीपती वर्गको लागि बनेको सरकारले सामान्य गरिब किसानको समस्या नबुझेको भन्दै महँगी, कालाबजारी, डिजिटल भ्रष्टाचार र मानवता विरोधी काम गरेको आरोप लगाएको छ।
३. उदाहरण: वक्तव्यमा इन्द्र राई र गणेश नेपालीले दिनदहाडै आत्मदाह गर्न बाध्य पारिएको उल्लेख गरिएको छ।
वक्तव्यमा वाइसीएलका अध्यक्ष पुष्प ओली र महासचिव गणेश बहादुर शाही विद्रोहीको हस्ताक्षर छ। मिति २०८३ असार २६ उल्लेख गरिएको छ।

