असार २६ नेपाल ।

कोशी प्रदेशको भोजपुर जिल्लास्थित टेम्केमैयुङ गाउँपालिकाले आफ्नो आधिकारिक लोगो डिजाइनका लागि दोस्रो पटक सार्वजनिक सूचना प्रकाशन गरेको छ।

गाउँ कार्यपालिकाको कार्यालय, अन्नपूर्णले आज जारी गरेको सूचनामा पहिलो पटक माग गरिएका प्रस्तावहरू मापदण्ड अनुसार नआएकाले पुनः डिजाइन पेश गर्न आह्वान गरिएको छ।

के भन्छ सूचना ?
गाउँपालिकाले मिति २०८३/०२/१९ को निर्णय अनुसार मिति २०८३/०२/२० मा लोगो डिजाइनका लागि पहिलो पटक सूचना प्रकाशन गरेको थियो। तर प्राप्त भएका प्रस्तावहरू मध्ये कुनै पनि गाउँपालिकाले तोकेको “आवश्यक मापदण्ड, मौलिकता, स्थानीय पहिचान, सांस्कृतिक तथा भौगोलिक विशेषता” पूरा नगरेकोले कुनै पनि प्रस्ताव छनोट हुन नसकेको कार्यालयले जनाएको छ।

अब गाउँपालिकाको पहिचान झल्किने मौलिक, आकर्षक, अर्थपूर्ण र प्रयोगयोग्य लोगो डिजाइन गरी प्रस्ताव पेश गर्न इच्छुक व्यक्ति, संस्था वा डिजाइनकर्ताहरूलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र प्रस्ताव पेश गर्न आग्रह गरिएको छ।

AI को प्रयोगबारे विशेष व्यवस्था
यसपटकको सूचनामा गाउँपालिकाले लोगो डिजाइनमा कृत्रिम बौद्धिकता (AI) को प्रयोगबारे पनि स्पष्ट पारेको छ।

विशेष सूचना अनुसार:
लोगो डिजाइन तयार गर्दा अध्ययन, सन्दर्भ सामग्री खोजी र प्रारम्भिक सोचका लागि AI प्रविधिको सहयोग लिन सकिनेछ।
तर पूर्ण रूपमा AI बाट जेनेरेट गरिएको, मौलिकता नभएको वा अन्य स्रोतबाट प्रतिलिपि गरिएको लोगो डिजाइन स्वतः अयोग्य ठहरिने छ।

बाँकी सबै शर्तहरू पहिलो पटक प्रकाशित सूचनामा उल्लेख भए बमोजिम नै रहने छन्।

कहाँ बुझाउने ?
इच्छुकले टेम्केमैयुङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, अन्नपूर्ण, भोजपुरमा प्रस्ताव बुझाउनुपर्नेछ। थप जानकारीको लागि www.tvamkemaiyummun.gov.np वेबसाइट वा temkemunbhp@gmail.com मा सम्पर्क गर्न सकिने छ।

सूचनामा प्रमुख प्रशासकीय अधिकृत अदित दाहालको हस्ताक्षर रहेको छ।