असार २५, नेपाल ।

नेपालको धितोपत्र बजारमा देखिएका समस्या र लगानीकर्ताका गुनासो बढेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बजार सुधारका लागि ठोस कदम चाल्ने भएको छ।

सेबोनले आज एक विज्ञप्ति जारी गर्दै आगामी सातासम्ममा समयबद्ध कार्ययोजना सहित विस्तृत ‘पूँजी बजार विकास मार्गचित्र’ सार्वजनिक गरी तत्कालै कार्यान्वयनमा लैजाने जानकारी दिएको छ।

बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले जारी गरेको विज्ञप्तिमा बजारमा देखिएका समस्याको समाधान र लगानीकर्ताको हकहित संरक्षणका लागि बोर्ड गम्भीर रूपमा गृहकार्यमा जुटेको उल्लेख छ।

सेबोनले गर्ने मुख्य कामहरू
१. नयाँ कार्ययोजना: आगामी एक साताभित्र पूँजी बजार विकासको मार्गचित्र ल्याएर कार्यान्वयन थालिने।
२. कानूनी पुनरावलोकन: धितोपत्र सम्बन्धी ऐन, धितोपत्र दर्ता तथा निष्काशन नियमावली र सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशनिका लगायतमा समसामयिक पुनरावलोकन सुरु भइसकेको।
३. प्रक्रियामा कडाइ: धितोपत्रको सार्वजनिक निष्काशन प्रक्रिया र नियमन व्यवस्थालाई अझ व्यवस्थित बनाइने।
४. निर्देशन कार्यान्वयन: बोर्डबाट अनुमति प्राप्त धितोपत्र व्यवसायी र सम्बद्ध संस्थाहरूलाई मार्जिन कारोबारको प्रभावकारी कार्यान्वयन लगायतका विषयमा दिएका निर्देशन तोकिएको समयमा सम्पादन गराउन निर्देशन।

सेबोनले स्वस्थ, सुरक्षित र प्रभावकारी पूँजी बजारको वातावरण बनाउने प्रतिबद्धता पनि जनाएको छ।

लगानीकर्तालाई सेबोनको आग्रह
लगानीकर्ताको हित संरक्षणलाई उच्च महत्व दिइएको भन्दै सेबोनले कसैको पनि हल्ला, बहकाउ तथा अफवाहमा नपरी आफ्नो अध्ययन र विश्लेषणमा आधारित भई जोखिम वहन क्षमता समेतलाई ध्यान दिएर सुझबुझपूर्वक लगानी सम्बन्धी निर्णय लिन अनुरोध गरेको छ।

पछिल्लो समय नेप्सेमा आएको उतारचढाव र विभिन्न कम्पनीहरूको सार्वजनिक निष्काशन प्रक्रियाप्रति लगानीकर्ताले असन्तुष्टि जनाएपछि सेबोनले यो विज्ञप्ति जारी गरेको हो।