असार २५ नेपाल ।

नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय भेला आयोजक समितिले विभिन्न माओवादी घटकबीच एकता र पुनर्गठनका लागि १९ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति गठन गरेको घोषणा गरेको छ।

नेपाल कम्युनिस्ट पार्टीका संयोजक उमाकान्त भुजेल ‘शिलु’को संयोजकत्वमा गठन भएको समितिले २०८३ भद्र मसान्तभित्र राष्ट्रिय भेला सम्पन्न गर्ने निर्णय गरेको छ।

पार्टीले आज जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको कम्युनिस्ट आन्दोलन संकटमा पुगेको उल्लेख गर्दै गम्भीर आत्मसमीक्षा गरेर माओवादी आन्दोलनलाई रूपान्तरण र एकीकृत गर्नुपर्नेमा जोड दिएको छ। विज्ञप्तिमा भनिएको छ, “सबै कम्युनिस्ट पार्टीहरूका बीचमा एकता, सहकार्य, मोर्चाबन्दी र पुनर्गठन सहित अगाडि बढ्न नसकेमा विघटन र विसर्जनलाई कसैले रोक्न सक्ने छैन।”

सरकारप्रति गम्भीर आरोप
विज्ञप्तिमा पछिल्लो निर्वाचनबाट बनेको सरकारलाई निरंकुश र फासिवादी बाटोतर्फ अग्रसर भएको आरोप लगाइएको छ। निष्पक्ष आवाजमाथि दमन, गणतन्त्र र संघीयतामाथि प्रहार, मजदुरको ट्रेड युनियन अधिकारमा बन्देज र जनविरोधी बजेट ल्याएको पार्टीको आरोप छ।

साथै साम्राज्यवादी हस्तक्षेप बढेको भन्दै राष्ट्रिय स्वाधीनताको पक्षमा संघर्ष गर्ने, विर्गातका उपलब्धीहरूको रक्षा गर्ने र श्रमजीवी जनतालाई समाजवादी विचारद्वारा प्रशिक्षित गर्ने पार्टीको उद्देश्य रहेको उल्लेख छ।

एकताको खाका
पार्टीले पहिलो चरणमा माओवादीहरूबीच रूपान्तरण सहितको एकता गरेर समग्र नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने, र त्यसपछि देशभक्त तथा सच्चा लोकतन्त्रवादी शक्तिहरूसँग संयुक्त मोर्चा निर्माण गर्ने प्रस्ताव अघि सारेको छ।

जनयुद्धका शहिद, बेपत्ता तथा घाइते योद्धाहरूको सपना पूरा गर्ने प्रतिबद्धता पनि विज्ञप्तिमा व्यक्त गरिएको छ।

राष्ट्रिय भेलालाई भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण देशभक्त र न्यायप्रेमी जनसमुदायसँग सहयोगको अपिल समेत गरिएको छ।