असार २३ नेपाल । भूमि प्रशासन कार्यालय, राजविराजले कार्यालय परिसरभित्र अवैध रूपमा सञ्चालित लेखापढी व्यवसाय हटाउन निर्देशन दिएको छ। कार्यालयले आज सूचना प्रकाशित गर्दै प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार तोकिएको समयभित्र परिसर खाली गर्न आग्रह गरेको हो।
कार्यालयका अनुसार पटकपटक सूचना जारी गरेर पनि केही लेखापढी व्यवसायीहरूले कार्यालय परिसरभित्रै टहरा/छाप्रो बनाएर व्यवसाय सञ्चालन गर्दै आएका थिए। यसले प्रचलित ऐन, कानून विपरीत हुने र सेवाग्राहीमा भ्रम सिर्जना गर्ने भएकाले व्यवसाय निषेध गरिएको कार्यालयले जनाएको छ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा मिति २०८३/०३/१७ गते बसेको बैठकले भूमि प्रशासन कार्यालयको परिसर अतिक्रमण गरेर बसेका सम्पूर्ण लेखापढी व्यवसायीलाई असार मसान्तभित्र परिसर बाहिरबाट मात्रै व्यवसाय सञ्चालन गर्ने गरी स्थान खाली गर्न निर्देशन दिएको थियो।
कार्यालयले उक्त निर्णय यथाशीघ्र कार्यान्वयनका लागि सूचना प्रकाशित गरेको जनाउँदै अब उपरान्त कसैले पनि यो सूचनालाई अटेर गरेमा कानून बमोजिम कारबाही हुने चेतावनी दिएको छ।

