असार २३ नेपाल । आठविसकोट नगरपालिकाको कामकाजमा जनप्रतिनिधिबाटै अवरोध गरिएको छ। नगरपालिकाका कर्मचारीहरुले वडा अध्यक्षसहितको टोलीले कार्यालयमा आएर अवरोध गरेको भन्दै प्रेस विज्ञप्ति जारी गरेका छन्।

नगरपालिकाका समस्त कर्मचारी परिवारले बुधबार जारी गरेको विज्ञप्तिमा मिति २०८३/०३/२२ गते दिउँसो १:१५ बजे आठविसकोट नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष केशरमान विक र वडा नं. १२ का पूर्व वडा सदस्य खड्क बहादुर विकसहितको समूहले कार्यालयमा प्रवेश गरी अवरोध गरेको उल्लेख छ।

के भएको थियो त?
विज्ञप्ति अनुसार उक्त समूहले:
१. कार्यालयको नियमित काममा अवरोध सिर्जना गरेको
२. गालीगलौज र बेइज्जेती गरेको
३. कार्यालय प्रमुख र लेखा प्रमुखमाथि हातपात गर्ने प्रयास गरेको
४. कर्मचारीहरुलाई कार्यक्षेत्रबाट बाहिर लखेटेको आरोप लगाइएको छ।

कर्मचारीको माग
कर्मचारीहरुले संविधान र कानून बमोजिम आफ्नो जिम्मेवारी निर्भीक भएर गर्न पाउनुपर्ने बताएका छन्। सार्वजनिक कार्यालयमा धम्की, दबाब र अवरोध गर्ने कार्य कानून सम्मत नहुने उनीहरुको भनाइ छ।

यस्ता गतिविधिले सेवाग्राहीलाई सिधै असर गरेको भन्दै नगरपालिकाले यस्ता कार्यप्रति गम्भीर असहमति जनाएको छ। साथै अबदेखि कार्यालयको शान्ति सुरक्षा भंग गर्ने जो कोहीलाई पनि प्रचलित कानून अनुसार कारबाहीको लागि सम्बन्धित निकायमा जानकारी गराउने चेतावनी दिएको छ।

सेवाग्राहीहरुलाई भएको असुविधाप्रति क्षमा माग्दै नगरपालिकाले सबैलाई नियमित सेवा प्रवाहमा सहयोग र कानूनको पालना गर्न अनुरोध गरेको छ।