७९ मंसिर ७ काठमाडौ नेपाल ।
इण्डोनेशियाको मुख्य टापु जाभामा गत सोमबार ५.६ म्याग्निच्युडको भूकम्प हुँदा दुई सय ६८ जनाको मृत्यु भएको छ । एक हजारभन्दा बढी घाइेत भएकाले मृतकको सङ्ख्या बढ्नसक्ने उद्धारकर्मीले बताएका छन् । सुरक्षा अधिकारीले खोजी तथा उद्धारलाई अझ तीव्र गतिमा अघि बढाएका छन् । भूकम्पबाट अधिक प्रभावित क्षेत्रमा थप उद्धारकर्मी र स्वयम्सेवक परिचालन गरिएका छन् भने हराएकाहरूको खोजी जारी छ । सियानजुर वरपरका क्षेत्रका धेरै स्थानमा पहिरो खसेको, इस्लामिक आवासीय विद्यालय, अस्पताल, सार्वजनिक सुविधाका स्थल र भवनहरू भत्केका छन् । भग्नावशेषबाट जीवित उद्धार गर्ने सम्भावना कम रहे पनि मृतकहरू भेटिनसक्ने अनुमानमा भग्नावशेष पन्छाउन स्वयम्सेवक दत्तचित्त भएर लागेका छन् । ठुल्ठूला साबेल, कोदालो, ज्यावल, हथौडी लिएर उनीहरू भग्नावशेषमा काम गरिरहेका छन् भने केही खाली हात नै खोजविनमा जुटेका छन् । प्रहरी बलले दुई हजार र राष्ट्रिय सेनाले १२ हजार फौज परिचाल गरेर खोजी तथा उद्धारलाई तीव्र गतिमा अघि बढाएको राष्ट्रिय प्रकोप न्यूनीकरण एकाइका प्रमुख सुहार्यान्तोले बताएका छन् ।केही प्रभावित क्षेत्र अति दुर्गम भएकाले भारी सवारी साधनसहित उद्धारकर्मीलाई त्यहाँ पुग्न हम्मेहम्मे परेको छ । भूकम्पसँगै पहिरो खस्दा सडक अवरूद्ध भएका छन् । अवरूद्ध सडकमा सवारी साधन सञ्चालन गरेर उद्धारमा जुट्नुपर्ने भएकाले पीडित परिवारसम्म सहयोग गर्नेहरू पुग्न सकेका छैनन् । समयमै उद्धार तथा राहत सामग्री नपाएकामा उनीहरूले सरकारको आलोचना गरेका छन्