जिल्लाको बागमती नगरपालिकाले शिक्षकहरूका लागि सिकाइ कार्यशाला सुरु गरेको छ । तल्लो तहदेखि नै शिक्षा सुधार गर्न नगरपालिकाले आफ्नो क्षेत्रका सबै सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्मका शिक्षकलाई ‘क्रियाकलापमा आधारित सिकाइ कार्यशाला’ सुरु गरेको नगर शिक्षा शाखाका प्रमुख मीनप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
उहाँका अनुसार सार्वजनिक शिक्षाको सुदृढीकरणमा केन्द्रित रहेर सुरु गरिएको कार्यशालामा शिक्षकलाई शैक्षिक सामग्री निर्माण तथा त्यसको प्रयोगबारे शिक्षण प्रशिक्षण दिइने छ । कार्यशालापछि शिक्षकहरूले किताबमा मात्रै आधारित नभई खेलाएर, नचाएर र हँसाएर सिकाउन सक्ने विश्वास लिइएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
अब शिक्षकहरूले किताब घोकाएर मात्रै सिकाउन पर्दैन, खेलाएर, नचाएर, हँसाएर र विभिन्न शैक्षिक सामग्री देखाएर पनि सिकाउन सक्षम हुन्छन्, उहाँले भन्नुभयो ।
“कार्यशालाको पहिलो दिन शिक्षकलाई कसरी खेल विधिबाट बालबालिकाको सिकाइलाई प्रभावकारी बनाउन सकिन्छ भनेर सिकाइने छ । जहाँ शिक्षकहरूले आफैँले खेलेर अनि प्रयोग गरेर महसुस गर्न सक्नेछन् । दोस्रो दिनदेखि विभिन्न विषयलाई भिन्न÷भिन्न शैक्षिक सामग्रीको प्रयोगबाट कसरी सिकाउन सकिन्छ र त्यस्ता शैक्षिक सामग्रीको निर्माणबारे पनि सिकाइने छ । कार्यशालाको पाँचौँ दिन भने शिक्षकहरूले आफूले निर्माण गरेका सामग्रीको प्रदर्शनी तथा सिकाइमा प्रयोगबारे प्रस्तुति दिनेछन्”, शिक्षा शाखा प्रमुख उपाध्यायले जानकारी दिनुभयो ।रासस
