प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत्तर लुम्बिनी क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाको संरक्षण गर्न वर्तमान सरकारले उच्च प्राथमिकतामा दिएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो “ लुम्बिनीको समग्र विकासका लागि सरकारले बृहत्तर लुम्बिनी गुरुयोजनाको कार्यान्वयन गरिराखेको छ । ” २५६७औँ बुद्ध जयन्तीका अवसरमा आज बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उहाँले बुद्धसँग सम्बन्धित क्षेत्र लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्रामका ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाको संरक्षण गरेर यस क्षेत्रको दिगो विकाससहित बृहत्तर लुम्बिनी क्षेत्रका रूपमा अघि बढाएकोे जानकारी दिनुभयोे ।

उहाँले सम्पूर्ण मानवजातिको साझा धरोहर तथा विश्व सम्पदा पवित्र लुम्बिनीको द्रुत विकासका लागि सरकारले लुम्बिनीलाई राष्ट्रिय गौरवको आयोजनामा सामेल गरी लुम्बिनी गुरुयोजनाको कार्य अगाडि बढाइरहेको बताउनुभयो ।

उहाँले अन्तर्राष्ट्रिय दातृराष्ट्र तथा सङ्घसंस्थाको समेत सहयोग तथा सहभागितामा सरकारले कपिलवस्तु क्षेत्र, देवदह क्षेत्र तथा रामग्रामको पुरातात्विक उत्खनन्, संरक्षण, प्रवद्र्धन तथा विकास गरी स्थानीयवासीलाई विकासको प्रतिफल दिलाउन भगिरथ प्रयत्न गरिने जानकारीदिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सम्राट अशोकले इसापूर्व २४९ मा शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनी, क्रकुछन्द बुद्धको जन्मस्थल गोटीहवा र कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवामा शिलालेखसहितको एक–एकवटा गरी जम्मा तीनवटा स्तम्भ स्थापना गर्नुभएको उल्लेख गर्नुहँुदै ती स्तम्भका शिलालेख, चिनियाँ तीर्थयात्रीका यात्रा वृत्तान्त, पुरातात्विक उत्खनन समेतबाट नेपालको रुपन्देही र कपिलवस्तु जिल्लामा ३० किलोमिटरको दूरीभित्र तीनवटा बुद्धको जन्म भएको भन्ने तथ्य प्रमाणित भएको बताउनुभयो । रासस