अन्तर्राष्ट्रिय कोदो वर्ष २०२३ औपचारिक रूपमा शुरू भएको छ । सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्ष घोषणा गर्ने संयुक्त राष्ट्रसङ्घको महासभाको प्रस्तावको नेतृत्व भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत सरकारले गरेको थियो । प्रस्तावलाई ७२ देशले समर्थन गरेका छन् । महासभाले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्ष घोषणा सन् २०२१ को मार्चमा गरेको थियो । भारतले कोदोको महत्वलाई पहिचान गर्न र समुदायलाई पौष्टिक भोजन प्रदान गर्नुका साथै घरेलु र विश्वव्यापी माग सिर्जना गर्न जोड दिएको छ । –कोदोको महत्व र फाइदा– उच्च प्रोटिन स्तर र अधिक सन्तुलित एमिनो एसिड प्रोफाइलको कारण कोदो गहुँ र चामलभन्दा पौष्टिक रूपमा उत्तम छ । कोदोमा विभिन्न ‘फाइटोकेमिकल्स’ पनि हुन्छन् जसले मानिसको ‘एन्टी–इन्फ्लेमेटरी’ र ‘एन्टी–अक्सिडेटिभ’ गुणहरूको कारण चिकित्सीय गुणहरू प्रयोग गर्दछ । यसबाहेक, कोदो भिन्नभिन्न हावापानीमा लगाउनसकिने हुँदा कोदोलाई विश्वभर उत्पादन गर्न सकिन्छ । कोदो कार्बोहाइड्रेट, प्रोटिन, आहारजन्य फाइबर र राम्रो गुणस्तरको चिल्लो पदार्थजस्ता पोषक तत्वहरूको समृद्ध स्रोत हो । क्याल्सियम, पोटासियम, म्याग्नेसियम, आइरन, म्याग्नीज, जिंक र बी कम्प्लेक्स भिटामिनजस्ता खनिजहरू यसमा पाइन्छन् । सबैभन्दा महत्वपूर्ण कुरा, कोदो उत्पादनका लागि रासायनिक मलको प्रयोग आवश्यक पर्दैन ।
