साउन ११ नेपाल।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालय अन्तर्गत सञ्चालन हुने स्नातक, स्नातकोत्तर तथा एम.फिल. कार्यक्रमको सत्रान्त परीक्षालाई मर्यादित र निष्पक्ष बनाउन परीक्षा नियन्त्रण महाशाखाले ६ बुँदे कडा निर्देशन जारी गरेको छ।
महाशाखाले साउन ११ गते जारी गरेको जरुरी सूचनामा परीक्षा नियमावली र विद्यार्थी आचारसंहिता पूर्ण रूपमा पालना गर्न सबै परीक्षार्थीलाई आग्रह गरेको छ।
परीक्षाका लागि पालना गर्नुपर्ने मुख्य नियमहरू:
1. प्रवेशपत्र अनिवार्य: परीक्षा नियन्त्रण महाशाखाबाट जारी गरिएको वैध प्रवेशपत्र प्रत्येक परीक्षाको दिन अनिवार्य ल्याउनुपर्ने।
2. तोकिएको सिटमा मात्र: परीक्षा केन्द्रले तोकेको सिटमा मात्र बसेर परीक्षा दिनुपर्ने।
3. भवन नछोड्ने: केन्द्राध्यक्ष वा निरीक्षकको अनुमति बिना सिट वा परीक्षा भवन छोड्न नपाइने। परीक्षा सुरु भएको पहिलो १ घण्टाभित्र भवनबाट बाहिर निस्कन पनि नपाइने।
4. इलेक्ट्रोनिक सामान निषेध: मोबाइल फोन, स्मार्ट वाच, चिट, पुस्तक वा अन्य कुनै पनि निषेधित सामग्री परीक्षा भवनभित्र ल्याउन पूर्ण रूपमा प्रतिबन्ध।
5. नक्कलमा कडा कारबाही: नक्कल गर्ने, अरूलाई सहयोग गर्ने, अरूको सट्टा परीक्षा दिने, परीक्षा सञ्चालनमा अवरोध पुर्याउने वा कर्मचारीप्रति अभद्र व्यवहार गर्ने कार्य गर्न नपाइने।
6. निर्देशन पालना: परीक्षा अवधिभर केन्द्राध्यक्ष, पर्यवेक्षक, निरीक्षक तथा कर्मचारीको निर्देशन पूर्ण रूपमा पालना गर्नुपर्ने।
सूचनामा भनिएको छ, “परीक्षा नियम तथा आचारसंहिताको उल्लंघन गरेको पाइएमा परीक्षा रद्द हुने, निश्चित अवधिसम्म परीक्षामा सहभागी हुनबाट वञ्चित गरिने तथा आवश्यक परे कानुनी कारबाही समेत हुन सक्ने छ।”
महाशाखाले अनुशासित, मर्यादित र निष्पक्ष वातावरणमा परीक्षा सम्पन्न गराउन सबै परीक्षार्थीको सहयोगको अपेक्षा गरेको छ।

Screenshot
