साउन ७ नेपाल ।
मकवानपुर जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र ठगी र अनलाइन स्क्यामका घटना बढ्दै गएको भन्दै आम नागरिक, होटल तथा गेष्ट हाउस सञ्चालकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले मिति २०८३ साउन ७ गते सार्वजनिक सूचना जारी गर्दै हेटौंडास्थित विभिन्न होटल र गेष्ट हाउसमा ग्राहकको भेषमा आउने केही व्यक्तिहरुले ठगी गर्ने गरेको तथ्य फेला परेको जनाएको छ।
सूचना अनुसार ती व्यक्तिहरुले अनलाइन सपिङ, अनलाइन जागिर, चिट्ठा, व्यापार, बजार अनुसन्धान, उद्योगमा लगानी र होलसेल कारोबारको नाममा प्रलोभनमा पारी विभिन्न व्यक्तिबाट आफ्नो क्युआर मार्फत वा नेपाल तथा भारतमा रहेको बैंक खातामा रकम जम्मा गराई ठगी गर्ने गरेका छन्।
प्रशासनका अनुसार शंकास्पद व्यक्तिहरुले होटल तथा गेष्ट हाउसमा लामो समयसम्म बसेर सञ्चालकको फोन र सवारी साधन समेत प्रयोग गरी अन्य व्यक्तिलाई जालमा पार्ने गरेको पाइएको छ। यसरी ठगी रकम छल्ने घटनामा वृद्धि भई पीडितहरुको गुनासो पनि बढ्दै गएको छ।
प्रशासनको निर्देशन
जिल्ला प्रशासनले यस्ता कार्यलाई पूर्ण रूपमा निगरानी गर्न, शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्न र ठग तथा अपराधीहरुको दैनिक तथा रात्रीकालीन गतिविधिबारे होटल व्यवस्थापक समेत जिम्मेवार भएर सचेत रहन सबैलाई अनुरोध गरेको छ।
साथै कुनै पनि नागरिकलाई ठगी गर्ने मनसाय देखिएमा तुरुन्तै नजिकको प्रहरीलाई खबर गर्न समेत प्रशासनले आग्रह गरेको छ।
सूचनामा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको हस्ताक्षर रहेको छ।

