साउन १, नेपाल ।

लामो समयदेखि अलपत्र परेको सवारी चालक अनुमतिपत्र अर्थात् लाइसेन्सको समस्या अब समाधान हुने भएको छ। सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले विगतदेखि छपाई हुन बाँकी रहेका २७ लाख लाइसेन्सको छपाई सम्पन्न गरेको छ।

मन्त्रालयले असार ३२, २०८३ मा जारी गरेको प्रेस विज्ञप्तिअनुसार यातायात व्यवस्था विभागसँग भएको दुई चरणको सम्झौताअनुसार बाँकी रहेका सबै लाइसेन्सको छपाई सकिएको हो।

कहिले भयो सम्झौता?
१. पहिलो चरण: २०८२ कार्तिक १२ गते
२. दोस्रो चरण: २०८३ वैशाख ४ गते
३. छपाई सम्पन्न: २०८३ असार ३२ गते

अब कस्तो हुन्छ सेवा?
सुरक्षण मुद्रण केन्द्रले अब यातायात कार्यालयबाट दैनिक रूपमा प्राप्त हुने नयाँ र नवीकरणका लागि आवेदनको तथ्यांकका आधारमा हरेक दिन ३ देखि ५ हजार लाइसेन्स छपाई गर्ने भएको छ।

मन्त्रालयका अनुसार अब ट्रायल उत्तीर्ण गरी राजस्व बुझाएका आवेदकले २४ घण्टाभित्रै लाइसेन्स छपाई भएर विभागमा हस्तान्तरण हुने व्यवस्था मिलाइएको छ।

नागरिकलाई छिटो र भरपर्दो सेवा दिने सरकारको प्रतिबद्धताअनुसार यो काम सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ।

यसअघि लाइसेन्स नपाएर वर्षौँ कुरिरहेका लाखौँ सेवाग्राहीका लागि यो खबर राहत बनेको छ।

– हेमन्त खबर