साउन १, नेपाल ।
नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रक कार्यालयले आर्थिक प्रशासन सम्बन्धी अधिकृतस्तरीय सेवाकालीन तालिमका लागि आवेदन माग गरेको छ।
कार्यालयले मिति २०८३/०३/३० मा सूचना जारी गर्दै सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सञ्चालन हुने ३ कार्यदिनको तालिमका लागि इच्छुक कर्मचारीबाट आवेदन आह्वान गरेको हो।
सूचना अनुसार यो तालिम मिति २०८३/०५/०१ देखि सुरु हुनेछ। तालिममा नेपाल प्रशासन सेवा, लेखा समूहमा कार्यरत लेखा अधिकृत वा सो सरहका राजपत्रांकित तृतीय श्रेणीका कर्मचारी जसले संघ, प्रदेश र स्थानीय तहमा ३ वर्ष सेवा अवधि पूरा गरिसकेका छन्, उनीहरूले आवेदन दिन पाउनेछन्।
कति जनाले पाउँछन् अवसर?
महालेखाले २५ जना मुख्य र १० जना वैकल्पिक गरी जम्मा ३५ जना प्रशिक्षार्थी छनोट गरेर तालिममा पठाउने जनाएको छ।
कसरी आवेदन दिने?
इच्छुक कर्मचारीहरूले मिति २०८३/०४/१५ गते भित्र तोकिएको Google Form मा विवरण भरी आवेदन पेश गर्नुपर्नेछ।
आवेदन लिङ्क: https://forms.gle/UQAiWvtUHn6HJSea7
साथै आव २०८२/८३ को वित्तीय प्रतिवेदन तयार गर्ने र आन्तरिक तथा अन्तिम लेखापरीक्षण गराउने कार्यमा बाधा नपर्ने गरी कार्यरत कार्यालयको सिफारिस सहित आवेदन दिनुपर्ने शर्त राखिएको छ।
पहिले आवेदन दिएर छनोट नभएकाहरूले पनि पुनः आवेदन दिन सक्नेछन्।
बोधार्थ: सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई आवश्यक समन्वय र सहजीकरण गर्न पनि भनिएको छ।

