असार २७ नेपाल ।
मानवअधिकार एलाइन्स, राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च-नेपाल ले त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ।
एलाइन्सले असार २६ मा जारी गरेको सार्वजनिक अपिलमा पछिल्ला दिनहरूमा भूमिहीन, सुकुम्बासी र सीमान्तकृत समुदायसँग जोडिएका दुःखद घटनाले देशलाई स्तब्ध बनाएको उल्लेख छ।
के भन्छ एलाइन्सले ?
एलाइन्सले गणेश नेपालीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।
“यो घटनाले नागरिकको पीडा, निराशा, न्यायमा पहुँच तथा राज्यप्रतिको विश्वाससँग सम्बन्धित गम्भीर प्रश्नलाई पुनः राष्ट्रिय बहसको विषय बनाएको छ” विज्ञप्तिमा भनिएको छ।
एलाइन्सले होल्डिङ सेन्टरको अवस्था, प्रहरीको बल प्रयोग र दुर्व्यवहार सम्बन्धी आरोपहरू मानव अधिकार, मानव मर्यादा र कानुनी शासनसँग प्रत्यक्ष जोडिएको भन्दै यसको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन हुनुपर्ने माग गरेको छ।
संविधानको स्मरण
नेपालको संविधानले प्रत्येक नागरिकलाई जीवन, सम्मान, समानता, न्याय र गरिमापूर्ण जीवन बाँच्न पाउने मौलिक अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै एलाइन्सले “नागरिक आफ्नो आवाज सुनाउन वा न्यायको खोजीमा जीवन नै जोखिममा राख्न बाध्य हुने अवस्था सृजना हुनु लोकतान्त्रिक शासन व्यवस्थामाथिको गम्भीर प्रश्न हो” भनेको छ।
एलाइन्सका ३ वटा मुख्य माग:
१. छानबिन र कारबाही: गणेश नेपालीको मृत्यु र पछिल्ला सबै सम्बन्धित घटनाको स्वतन्त्र, निष्पक्ष, पारदर्शी छानबिन गरी दोषीलाई कानुनबमोजिम जवाफदेही बनाइयोस्।
२. राहत र सुधार: पीडित परिवारलाई न्याय, क्षतिपूर्ति, राहत र मनोसामाजिक सहयोग उपलब्ध गराइयोस्। यस्ता घटना नदोहोरियोस् भनेर संस्थागत सुधार गरियोस्।
३. अधिकारको सम्मान: भूमिहीन, सुकुम्बासी तथा सीमान्तकृत समुदायसँग सम्बन्धित राज्यका सबै कार्यहरू मानवअधिकार, संविधान र सर्वोच्च अदालतको आदेशअनुसार सञ्चालन गरियोस्।
विज्ञप्तिमा एलाइन्सका अध्यक्ष विदुर सुवेदीको हस्ताक्षर छ।

