मंसिर १४ नेपाल । साविक नेपाल ईण्डष्ट्रियल एण्ड कमर्सियल बैंक लिमिटेड तथा साविक बैंक अफ एशिया नेपाल लिमिटेडले घोषणा गरेको नगद लाभांश मध्ये विगत ५ वर्ष देखि लाभांश नलिएका सेयर लगानीकर्ताहरुलाई लाभांश लिन अनुरोध गरेको छ ।

लाभांश पुर्जा प्राप्त भई लाभांश रकम भुक्तानी लिन बाँकी रहनु भएका तथा लाभांश पुर्जा समेत नलिनु भएका शेयरधनी महानुभावहरुले आफ्नो शेयर प्रमाणपत्रका साथ आफ्नो परिचय खुल्ने कुनै परिचयपत्र वा सो अवधिमा शेयरधनी रहनुभई तत् पश्चात आफ्नो शेयर विक्री गरेका तत्कालीन शेयरधनीहरुले आफ्नो परिचय खुल्ने कुनै परिचयपत्रका साथ शेयर बिक्रीको प्रमाण देखिने कागजातको प्रतिलिपि लिई यो सूचना प्रकाशित भएको मितिले एक महिना भित्र बैंकको कुनै पनि शाखा वा बैंकको शेयर रजिष्ट्रार एन आई सी एशिया क्यापिटल लिमिटेड, थापाथली, काठमाडौँमा कारोबार समयमा सम्पर्क राखी लाभांश भुक्तानी लिनुहुन बैंकले सूचना जारी गरेको छ ।

सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र आफ्नो बाँकी रहेको नगद लाभांश बुझिलिन हुन बैंकले अनुरोध गरेको छ । समयमै लाभांश बुझिनलिए लाभांश रकम कम्पनी ऐन, २०६३ को दफा १८२ (२) तथा नेपाल राष्ट्र बैंकको ई.प्रा. निर्देशन नं १६/८१ को ३ (५) अधिनमा रही कम्पनी ऐन, २०६३ को दफा १८३(१) बमोजिम स्थापना भएको “लगानीकर्ता संरक्षण कोष” मा जम्मा गर्ने समेत बैंकले जनाएको छ।

साथै नगद लाभांश लिन बाँकी रहेका शेयरधनी महानुभावहरुको विवरण एन आई सि एसिया बैंकको वेवसाइटमा राखेको समेत बैंकले जनाएको छ।