२०८२ कात्तिक २० नेपाल । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ भदौ १३ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका चन्द्र कुबेर खापुङ्ग दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ । गृह मन्त्रालय सिंहदरबारमा बिहीबार आयोजित विशेष समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गलाई दर्ज्यानी चिन्हबाट सुशोभन गर्नुभएको हो ।
सुशोभन समारोहमा गृहसचिव दुवाडीले नेपाल सरकारले कार्यक्षमता, कार्यदक्षता, जेष्ठता लगायतका आधारमा उच्च मुल्याङ्कन गर्दै नेपाल प्रहरी संगठनको प्रमुखको रूपमा नियुक्त गरी प्रहरी महानिरीक्षक खापुङ्गलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खापुङ्गको कार्यकालमा सरकारले राखेको अपेक्षा पुरा हुने विश्वास व्यक्त गर्दै कार्यकाल पूर्ण सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।
गृहसचिव दुवाडीले मुलुकमा शान्ति सुव्यवस्था र अमनचयन तथा सुशासन कायम गर्न, अपराध नियन्त्रण गर्न एवम् सामाजिक न्याय कायम गर्न प्रहरीको अहम भूमिका रहेको चर्चा गर्दै आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउनु नै हामी सबैको कर्तव्य रहेकोले प्रहरी महानिरीक्षकले आफ्नो कार्यकालमा नेपाल प्रहरीको श्रीवृद्धि गराउँदै आम नागरिकमा अझ राम्रो छाप बसाल्न तथा सकल दर्जाका प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाई संगठनको लक्ष्य एवम् उद्देश्य हासिल गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
समाजको गतिशीलता र प्रविधिको विकास सँगै आपराधिक गतिविधिमा पनि नयाँ नयाँ ढंगको प्रवृत्ति बढिरहेको अवस्थामा ती सबै आपराधिक गतिविधिलाई नियन्त्रण गरी समाजमा न्याय स्थापना गर्नु जरूरी रहेको बताउँदै गृहसचिव दुवाडीले भन्नुभयो, ‘ यसको लागि कुशल, दक्ष, सक्षम, उन्नत र गतिशील प्रहरीको आवश्यकता पर्दछ । तपाईको कार्यकालमा उल्लेखित विशेषतामा बढोत्तरी कायम गर्न तपाई र तपाईको सम्पूर्ण टिम सफल हुनुहोस् । अपराध अनुसन्धानमा कुशलता देखाउन सफल हुनुहोस् । भनसुन, चलखेल र पक्षपात हुन्छ भन्ने भाष्यलाई चिर्न सफल हुनुहोस् र नेपाल प्रहरी भनेको निष्पक्ष, पारदर्शी, विश्वासिलो, कानूनको पूर्ण परिपालना गर्ने व्यावसायिक संगठन हो भन्ने भावना जागृत गर्दै नतिजा देखिने गरी काम गर्न तपाई र तपाईको टिम सफल हुनुहोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु’ । उपलब्ध भएका सीमित स्रोतसाधन, जनशक्ति र प्रविधिको उच्चतम प्रयोग गरेर सीमिततालाई अवसरको रूपमा बदल्न समेत प्रहरी महानिरीक्षक सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

गृहसचिव दुवाडीले साइबर अपराध, वित्तीय अपराध, आत्महत्या, सवारी दुर्घटना लगायतका विभिन्न सामाजिक अपराधहरू चुनौतिको रूपमा देखा परेको हुँदा त्यस्ता चुनौतिहरूलाई न्यूनीकरण तथा नियन्त्रण गरेर सभ्य समाज निर्माण गर्न जरूरी रहेको र यसका लागि चुस्त दुरूस्त सुरक्षाको प्रत्याभूति गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्रालयले प्रहरी संगठनको कार्यसम्पादनमा सदैव अभिभावकीय भूमिका निर्वाह गर्नुका साथै सदैव समन्वय, सहजीकरण र सहयोग गरिरहने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । गृह प्रशासन सदैव नीति, विधि र पद्धति बमोजिम संचालित रहेको र गृह मन्त्रालय अन्तर्गत मातहत निकायहरूले नीति, विधि र पद्धति अन्तर्गत निर्वाह गरेका हरेक कामको गृह मन्त्रालयले अपनत्व लिने र त्यही अनुसार सबै निकाय संचालित होस् भन्ने अपेक्षा र विश्वास लिएको उहाँले बताउनुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले मुलुक प्रति निर्वाह गरेको निष्ठापूर्ण सेवा, कार्यक्षमता र व्यावसायिकताको कदर गर्दै नेपाल सरकारले आफूलाई प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकार तथा गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता सहित आभार व्यक्त गर्नुभयो । नेपाल सरकार तथा गृह मन्त्रालयले सुम्पेको जिम्मेवारी पूर्ण निष्ठा, पेशागत अनुशासन, पारदर्शीता र सेवा भावका साथ निर्वाह गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।
प्रहरी महानिरीक्षक खापुङ्गले प्रहरी महानिरीक्षक पद व्यक्ति नभई संस्था भएको उल्लेख गर्दै व्यक्तिगत रूपमा सफल हुने भन्दा पनि संस्था सफल हुनु अपरिहार्य रहेको र त्यसले राष्ट्र, संगठन र समग्र प्रहरीका लागि हित गर्ने बताउनुभयो । समग्र नेपाल प्रहरी संगठनको श्रीवृद्धि गर्दै नागरिकमैत्री प्रहरी सेवालाई संस्थागत गर्न समर्पित रहनुका साथै आफ्नो कार्यकालमा संगठन र आवद्ध सकल दर्जाका प्रहरी कर्मचारीहरूको हितका खातिर समर्पित हुने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । हेरक नागरिकले पेशागत व्यावसायिक, प्रभावकारी, नागरिकमैत्री र सेवामूलक नेपाल प्रहरीको अपेक्षा राखेको उल्लेख गर्दै आम नागरिकको सुझाव, सहकार्य र पृष्ठपोषणलाई आत्मसाथ गरी राज्य प्रतिको भरोसा र विश्वासमा अभिवृद्धि गर्दै लोककल्याणकारी राज्यको अनुभुति गराउन नेपाल प्रहरीले उच्च व्यावसायिक निष्ठा सहित आफ्नो जिम्मेवारी वहन गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।
प्रहरी महानिरीक्षक खापुङ्गले नेपालको संविधानको मर्म अनुरूप प्रभावकारी कानून कार्यान्वयन, विधिको सासन र आम नागरिकका संवैधानिक हक तथा अधिकारको प्रत्याभूति, सुरक्षा, सुशासन, सामाजिक न्याय र सद्‍भावको सुनिश्चितता गर्न नेपाल प्रहरी निष्ठापूर्वक उच्च मनोबलका साथ कर्तव्यनिष्ठ रहेको बताउनुभयो । अपराधमा बढ्ढो प्रविधिको प्रयोगले नयाँ नयाँ चुनौति देखा परेको र यसको सामना गर्न परम्परागत शैलीले भन्दा अपराध अनुसन्धानमा क्षमताको अभिवृद्धि गर्नुपर्ने जरूरी रहेको उहाँले बताउनुभयो । संगठनमा विधि र पद्धतिको पालना आफ्नो मुख्य प्राथमिकता रहेको उल्लेख गर्दै उहाँले यस संकल्पमा तालुक गृह मन्त्रालय र सहकर्मीहरूबाट साथ एवम् सहयोगको अपेक्षा समेत गर्नुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू एवम् संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित भएपश्चात नवनियुक्त प्रहरी महानिरीक्षक खापुङ्गले बिहीबार आफ्नो कार्यकक्षमा पदबहाली गर्नुभएको छ । प्रहरी महानिरीक्षक खापुङ्ग नेपाल प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरू तथा जवानहरूले हार्दिक स्वागत गर्नुभयो ।
प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुकासाथै नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गको सङ्क्षिप्त जीवनी :
प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग नेपाल प्रहरीको ३२औं प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ भदौ १३ गतेको निर्णयअनुसार उहाँ नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति हुनुभएको हो ।
तेह्रथुम जिल्लाको साविक मोराहाङ-५ हाल मेन्छयायेम गाउँपालिका वडा नम्बर ६ मा पिता ललित बहादुर खापुङ्ग र माता गंगामाया खापुङ्गको कोखबाट वि.सं. २०२७ मंसिर २३ गते जन्मनु भएका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गका श्रीमती भावना श्रेष्ठ खापुङ्ग र २ छोराहरू हुनुहुन्छ । प्रहरी महानिरीक्षक खापुङ्गले वि.सं. २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रारम्भ गर्नुभएको हो । प्रहरी सेवामा साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाउनुभएका प्रहरी महानिरीक्षक खापुङ्ग २०६४ साउन १ गते प्रहरी नायव उपरीक्षक, २०७३ पुस १३ गते प्रहरी उपरीक्षक, २०७७ वैशाख १७ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०८० वैशाख ६ गते प्रहरी नायव महानिरीक्षक र २०८२ वैशाख ११ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएको थियो ।

तेह्रथुम जिल्लाको साविक मोराहाङ-५ हाल मेन्छयायेम गाउँपालिका वडा नम्बर ६ मा पिता ललित बहादुर खापुङ्ग र माता गंगामाया खापुङ्गको कोखबाट वि.सं. २०२७ मंसिर २३ गते जन्मनु भएका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गका श्रीमती भावना श्रेष्ठ खापुङ्ग र २ छोराहरू हुनुहुन्छ । प्रहरी महानिरीक्षक खापुङ्गले वि.सं. २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रारम्भ गर्नुभएको हो । प्रहरी सेवामा साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाउनुभएका प्रहरी महानिरीक्षक खापुङ्ग २०६४ साउन १ गते प्रहरी नायव उपरीक्षक, २०७३ पुस १३ गते प्रहरी उपरीक्षक, २०७७ वैशाख १७ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०८० वैशाख ६ गते प्रहरी नायव महानिरीक्षक र २०८२ वैशाख ११ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएको थियो ।
मास्टर अफ आर्ट ईन जेन्डर स्टडिजमा स्नातकोत्तर गर्नुभएका प्रहरी महानिरीक्षक खापुङ्गले उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम, प्रोग्राम अन क्यापासिटी बिल्डिङ फर क्राइम प्रिभेन्सन् स्ट्राटेजी डेभलपमेन्ट, एसिया रिजन ल इन्फोर्समेन्ट मेनेजमेन्ट प्रोग्राम, एड्भान्स्ड कोर्ष अन मेनेजमेन्ट एण्ड डेभलपमेन्ट, स्ट्याबिलिटी पुलिस युनिट हाई लेभल कोर्ष, बेसिक इन्टेलिजेन्स ट्रेनिङ, ईन्भेस्टिगेटिभ ईन्टरभ्यु ट्रेनिङ कोर्ष, वर्कसप अन चिल्ड्रेन ईन आर्म्ड कन्फ्लिक्ट, अपराध अनुसन्धान लगायत विभिन्न १४ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गर्नुभएको छ । प्रहरी महानिरीक्षक खापुङ्ग प्रवल जनसेवा श्री र गद्दी आरोहण रजत पदक लगायतका विभूषणबाट विभूषित हुनुहुन्छ । यसैगरी उहाँले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत ग्रेड थप तथा विभिन्न समयमा नगद पुरस्कार प्राप्त गर्नुको साथै विभिन्न प्रशंसापत्रद्वारा सम्मानित हुनुभएको छ ।

अब्बल एवम् कुशल नेतृत्त्वदायी भूमिकामा रहने प्रहरी महानिरीक्षक खापुङ्गले प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँदा जिल्ला प्रहरी कार्यालय म्याग्दी, सशस्त्र प्रहरी गण नम्बर २, जिल्ला प्रहरी कार्यालय सिन्धुली, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक, जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय बेलबारी, महानगरीय प्रहरी परिसर काठमाडौं, सशस्त्र प्रहरी गण मुख्यालय नेपालगंज बाँके, उपत्यका अपराध अनुसन्धान समूह काठमाडौं, अञ्चल प्रहरी कार्यालय धौलागिरी, महानगरीय प्रहरी वृत चापागाउँ ललितपुर, प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालय, इलाका प्रहरी कार्यालय धरान सुनसरी, महानगरीय प्रहरी वृत्त दरबारमार्ग, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबार, महानगरीय प्रहरी पहरा गण मुख्यालय सामाखुसी काठमाडौं, प्रहरी प्रधान कार्यालय प्रशासन विभाग लगायतका युनिटमा खटिएर जिम्मेवारी पूरा गर्नुभएको थियो । प्रहरी उपरीक्षक भएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौं अन्वेषण योजना तथा विकास शाखा, जिल्ला प्रहरी कार्यालय बागलुङ, प्रहरी प्रधान कार्यालय प्रशासन विभाग तथा प्रहरी प्रधान कार्यालय विशेष ब्यूरोमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । प्रहरी वरिष्ठ उपरीक्षक भएपछि उहाँले प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग भर्ना छनौट महाशाखा, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेमा जिम्मेवारी निर्वाह गर्नुभएको   थियो । प्रहरी नायव महानिरीक्षकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल र कोशी प्रदेश प्रहरी कार्यालयको कमाण्ड  गर्नुभएका खापुङ्ग २०८२ वैशाख ११ मा प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति हुनुभएको हो । प्रहरी अतिरिक्त महानिरीक्षकमा उहाँले केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटको कमाण्ड समेत गर्नुभएको थियो । श्रोत: नेपाल प्रहरीको समाचार वेबसाईट