२०८२ कात्तिक ११ नेपाल । जल तथा मौसम विज्ञान विभागबाट मिति २०८२ कार्तिक १० गते देखि १२ गते सम्म गण्डकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा र उच्च हिमाली तथा पहाडी भू-भागका एक दुई स्थानमा भारी हिमपातको सम्भावना प्रक्षेपण गरिएको छ । साथै, पछिल्लो समयमा पदयात्राका लागि गएका पर्यटकहरुमा लेक लाग्ने समस्याका कारण मृत्यु भएको एवं आपतकालीन उद्दार गर्नुपरेका घटनाहरु वृद्धि भएका छन् । यसर्थ, उल्लिखित मौसम पूर्वानुमानका आधारमा उत्पन्न हुन सक्ने जोखिम र लेक लाग्न सक्ने समस्या समेतलाई मध्येनजर गरी देहाय बमोजिम सतर्कता अपनाउनुहुन जिल्ला प्रशासन कार्यलय कास्कीले अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यलय कास्किले नागरिकहरुको नाममा देहाय बमोजिमको सतर्कता अपनाउन अनुरोध गरेको छ :

१ ) पदयात्रा गर्नुपर्दा जल तथा मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक सूचनाहरुलाई पालना गरी यात्रा गर्नुहुन ।

२) उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना भएकोले जिउज्यानको सुरक्षालाई दृष्टिगत गरी अन्नपूर्ण वेश क्याम्प, मर्दि हिमाल, खुमै डाँडा, कोरी लगायतका स्थानमा मौसम सफा नभएसम्म पदयात्राका लागि ननिस्किनुहुन ।

३) पदयात्रामा जाँदा पर्याप्त सूचना तथा जानकारी लिई तयारीका साथ जानुहुन र आवश्यकता अनुसार खाने बस्ने व्यवस्थाको लागि अग्रिम बुकिङ्ग समेत गर्नुहुन ।

४) पदयात्रा गर्दा एक्लै नगई समूहमा जानुहुन र हतारमा नगई विस्तारै उचाई लिंदै जानुहुन ।

५) पछा, टोपी, ज्याकेट लगायतका न्यानो कपडा, तातोपानी सहितको थर्मस, लेक लाग्दा प्रयोग गर्ने औषधी लगायत अन्य आधारभूत औषधी तथा औषधीजन्य सामग्रीहरु लिएर मात्र पदयात्रा गर्नुहुन ।

६) पदयात्राका दौरान पर्याप्त मात्रामा तातोपानी, जीवनजल, झोलिलो खानेकुरा खानुहुन एवं धुम्रपान तथा मद्यपान नगर्नुहुन ।

७) लेक लागेका लक्षणहरु (टाउको दुखे, रिंगटा लाग्ने, वाकवाकी हुने आदि) देखा परेमा तुरुन्त अन्य साथीहरुलाई जानकारी गराई तल्लो उचाई मा रहेका स्थानहरुमा झर्नुहुन ।

८) निरन्तर वर्षाको अवस्थामा पहिरोको समेत जोखिम हुने भएकोले सिकलेस, घान्दुक, लान्द्रुक लगायतका पहाडी तथा ग्रामिण भूभागमा यात्रा गर्दा तथा सवारी साधन संचालन गर्दा आवश्यक सतर्कता अपनाउनुहुन ।

९) सबै स्थानीय तह, निजी क्षेत्र, पर्यटन व्यवसायी, होटल व्यवसायी, यातायात व्यवसायी, ट्रेकिङ्ग एजेन्सीहरु, नागरिक समाज तथा सरोकारवाला निकायहरुले मौसम पूर्वानुमान बमोजिम आवश्यक भूमिका निर्वाह गरी विपजन्य घटनाबाट हुन सक्ने जिउज्यानको सुरक्षामा खटिदिनुहुन ।

१०) कुनै विपद्धन्य घटना वा आपतकालीन उद्दार गर्नुपर्ने भएमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी ईकाई वा सुरक्षा निकाय, स्थानीय प्रशासन र देहायका सम्पर्क नं. मा तुरुन्त जानकारी गराउनुहुन ।

सम्पर्कको लागिः
क) नेपाली सेनाः ०६१-५८११६०, ९७६३२४६०२२ (डयूटी अफिसर)

ख) नेपाल प्रहरीः १०० (प्रहरी कन्ट्रोल), ९८५६०३९५९९ (डयूटी अफिसर)

ग) सशस्त्र प्रहरी बल नेपालः ०६१-५४४०८८, ९८५१२७२०८० (डयूटी अफिसर)