२०८२ कात्तिक ११ नेपाल । बंगालको खाडीमा विकसित चक्रवात “मोन्था” आज मिति: २०८२/०७/११ गते मंगलबार राती भारतको आन्द्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको र तत् पश्चात् बिस्तारै कमजोर हुँदै उत्तर-उत्तर पश्चिम दिशामा सर्दै न्यूनचापीय क्षेत्रका रुपमा नेपालको मध्य भू-भाग नजिक आई पूर्वतर्फ सर्दै मिति २०८२/०७/१३ गते बिहीबार दिउँसो देखि मिति २०८२/०७/१५ गते शनिबार बिहानसम्म नेपालको बागमती, मधेश र कोशी प्रदेशको मौसम प्रभावित हुने देखिन्छ ।

उक्त प्रणालीको प्रभावले मधेश र कोशी प्रदेशका धेरै स्थानहरूमा तथा बागमती प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश र कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

 

कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ। साथै कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको सम्भावना समेत रहेको छ ।

हालको विश्लेषण अनुसार उक्त अवधिमा देशको बागमती, कमला, कोशी र कन्काई नदी र यी नदीका सहायक नदीहरुमा बहाब उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्न सक्ने देखिएको साथै कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स-साना नदीनालाहरुमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ। विशेषगरि बागमती प्रदेशका काठमाण्डौ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पांचथर, तेहथूम, भोजपुर, धनकुटा, इलाम, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने स-साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहने देखिएको छ।

संभावित मौसमी प्रणाली र यसको प्रभाव क्षेत्रका सम्बन्धमा यस विभागले नियमित अनुगमन र विश्लेषण गरिरहेको छ। तसर्थ, सम्भावित वर्षा र हिमपातको कारणले नदीनालाहरुमा आकस्मिक बहाव, पहिरो लगायतका जोखिमका साथै दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि, पर्यटन लगायत क्षेत्रहरूमा समेत प्रभाव पर्न सक्ने सम्भावना रहेकोले सम्बन्धित सबै निकायहरू र आमसर्वसाधारणलाई यस विभागवाट वेभसाइट, सामाजिक सञ्जाल, टोल फ्रि सेवा (११५५) तथा एसएमएस लगायतका माध्यमबाट सम्प्रेषण गरिने अद्यावधिक पूर्वसूचना प्राप्त गरी आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ। जल तथा मौसम विज्ञान विभागले आज जारी गरेको प्रेस बिज्ञप्तीमा भनिएको छ् ।