२०८२ कात्तिक १० नेपाल। राष्ट्रपति रामचन्द्र पौडेल द्वारा छठ पर्व २०८२ को उपलक्ष्यमा देसबासीको नामामा शुभकामना शुभकामना सन्देश व्यक्त गरेका छन् ।

´छठ पर्व, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु` ।
´सूर्य, जल र पृथ्वीप्रति श्रद्धा गर्दै छठी माताको पूजा, अर्चना र व्रत गरी रातभर खोला, पोखरी तथा तालतलैयाको किनारमा जाग्राम बसी धुमधाम एवम् हर्षोल्लासका साथ यो पर्व मनाउने चलन रहेको पाइन्छ । खास गरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व हाल आएर काठमाडौँ उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा समेत श्रध्दा एवम् भक्तिपूर्वक मनाउने चलन बढ्दै जानु खुसीको विषय हो । दीर्घायु, स्वच्छता, सात्विक भोजन, संयमता, सद्‌भाव र समृद्धिको कामना गरी मनाउने यस पर्वले समग्ररूपमा प्रकाश र उर्जा प्रदान गर्ने सूर्य देवको आराधना गरी सामाजिक र प्राकृतिक सन्तुलनको सन्देश प्रवाह गर्दै आएको देखिन्छ` ।

´छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाईने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दु:ख र कष्ट हटेर शुभ हुँदै जाने जनविश्वास रहेको छ । सूर्यविना पृथ्वीमा जीवन सम्भव नरहने सन्दर्भलाई आत्मसात् गर्दै तन, मन लगाएर कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म जल प्रवाह हुने स्थानमा रहेर अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य दिएर पूजा आराधना गरी यो पर्व मनाउनाले मानिसलाई प्रकृति प्रतिको दायित्व र पर्यावरणीय चेतना एवम् पारिवारिक र सामाजिक ऐक्यवद्धता प्रकट गर्न सहयोग पुग्ने देखिन्छ ।
यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवम् विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्न र आपसी सद्‍भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु` ।

´अन्त्यमा, यस पर्वले हाम्रो समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसंगतिलाई अन्त्य गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुगोस् भन्ने कामना गर्दछु `। राष्ट्रपति रामचन्द्र पौडेल द्वारा जारी शुभकामना सन्देशमा भनिएको छ् ।