२०८२ बैशाख १० भक्तपुर । अन्तर्राष्ट्रिय शान्तिवक्ता, सुप्रसिद्ध लेखक एवम् शान्तिदूत प्रेम रावतले आज भक्तपुरको सिपाडोलमा हजारौं श्रोतालाई सम्बोधन गर्नुभएको छ ।
११ वर्षपछि शान्तिवक्ता रावतले नेपालमा यसै साता रुपन्देही र भक्तपुरमा गरी दुईओटा कार्यक्रमलाई सम्बोधन गर्नुभयो । वैशाख ६ गते रुपन्देहीको सैनामैनामा भएको कार्यक्रममा १ लाख बढी श्रोतालाई सम्बोधन गर्नुभयो भने आज भक्तपुरमा भएको कार्यक्रममा उहाँलाई झन्डै ४० हजारले सुनेका छन् ।
कार्यक्रममा सम्बोधन गर्दै प्रेम रावतले भन्नुभयो, “हामीले प्राप्त गरेको यो जीवन अत्यन्तै दुर्लभ छ । सत्यता के हो ? तीनओटा कुरा सबैका लागि समान छन्- पहिलो तपाईंको जन्म भएको छ, दोस्रो तपाईं अहिले जीवित हुनुहुन्छ । तपाईंभित्र श्वास आइरहेको अनि गइरहेको छ । अनि, तेस्रो चाहिँ एक दिन तपाईंले यो संसारबाट बिदा लिनुपर्ने छ ।”
व्यक्तिले आफ्नो जीवनमा कुन कुरालाई प्राथमिकता दिनु आवश्यक छ ? जीवनमा सदैव आन्तरिक आनन्दको अनुभव गर्नु आवश्यक छ । यसका लागि आफूभित्र भएका सृष्टिकर्तालाई मान्नु नभएर चिन्नु नै आवश्यक रहेको उहाँले बताउनुभयो ।
आत्मज्ञान प्रचार संघले यो कार्यक्रमको आयोजना गरेको हो । उपस्थित सबै सहभागीहरूले यस कार्यक्रमबाट भरपुर आनन्द लिनुभयो ।