२०८१ चैत्र १७ काठमाडौं ।कोटेश्वर एरियामा चैत्र १५ गते राजावादीले गरेको प्रदर्शनको क्रममा व्यक्तिको निजि घर, भाट्भटेनी तोडफोड, पत्रकारको मृत्युु भएको घट्ना लाई समाजवादी कम्युनिस्ट पार्टीले हिंशाको संज्ञा दिएको छ् । राजावादीले घटाएको सो हिंशालाई समाजवादी पार्टीले भर्त्सना गर्दै राजावादी शक्तिहरू चिहानबाट बर्बराइरहेका छन् भन्ने कुरा प्रेस विग्यप्तिमा भनिएको छ् । प्रेस विग्यप्तिमा भनिएको छ् :
´जनउत्तरदायी समाजवादी कम्युनिस्ट पार्टी नेपाल मुलुकमा विकसित राजनीतिक घटनाक्रमप्रति गम्भीर चासो र चिन्ता व्यक्त गर्दछ । नवऔपनिवेशिक पुँजीवादी दलाल संसदीय व्यवस्थाको पूर्ण रूपमा असफलता, संसद्वादी पार्टी र नेताहरूको चरम सत्तालिप्सा, राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरूमा चरम उदासीनता, जनताका मौलिक अधिकारहरूप्रति गम्भीर लापरबाहीका कारण आज पुनरुत्थानवादी, प्रतिक्रियावादी ‘राजावादी’ शक्तिहरू चिहानबाट बर्बराइरहेका छन् । दलाल संसदीय व्यवस्थाको असफलता र त्यसबाट जनतामा उत्पन्न निराशा तथा आक्रोशलाई प्रतिगमनजस्तो निकृष्ट, अवैज्ञानिक बाटोमा लाग्न दुरुत्साहन गर्ने अवसरका रुपमा दुरुपयोग गर्दै हिंसात्मक प्रदर्शनमा उत्रिएका छन् । यो पुनरुत्थानवादीहरूको अन्तिम निःश्वास हो र यसका सञ्चालकहरूमाथि विशेषतः जनताले दण्डित गर्नेछन् । सरकारलाई यसप्रकारको स्थिति निर्माणका लागि आत्मालोति हुन र कडा कदम चाल्न माग गर्दछौं। कथित राजावादीहरूको अराजक र हिंसात्मक प्रदर्शनका क्रममा चैत १५ गते काठमाडौँमा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र प्रदर्शनकारी सविन महर्जनको दुःखद् निधन भएको छ । हाम्रो पार्टी मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको अपेक्षा गर्दै निकृष्ट र निर्लज्ज सरकारलाई जनतालाई पुनरुत्थानवादीको उक्साहटमा गलत बाटो रोज्ने अवस्था सुधारेर जनताका समस्या तत्काल समाधान गर्ने कार्य गर्न आग्रह गर्दछौँ।
इतिहासले साबित गरिसकेको विषय के हो भने निरङ्कुश, सामन्ती राजतन्त्र देश र जनताको समस्या, उन्नति र मुक्तिको बाटो कदापि हुन सक्तैन । महान् जनयुद्धमा हजारौं जनताले बगाएको रगत र देखेको सुन्दर सपनामाथि जनयुद्धका नायक भनिएकाहरूसँगै संसद्वादी शक्तिहरूले गरेको विश्वासघात, सम्झौता र धोकाको परिणाम आज फेरि जनताले उही पुरानै समस्या झेल्नु परिरहेको छ । सच्चा गणतन्त्र र समाजवादविरोधी शक्तिहरू दलाल पुँजीवादी व्यवस्थालाई लिपपोत गर्दै समाजवादको जामा लगाएर छट्टु स्यालले झै जनतालाई ठगिरहेका छन् र मुलुकमा ब्रह्मलूट मच्चाइरहेका छन् । जनताले खोजेको निरङ्कुश, व्यभिचारी, मानवसभ्यताकै खिल्ली उडाउने राजतन्त्रात्मक सामन्ती व्यवस्था होइन, समाजवादी गणतन्त्र र वैज्ञानिक समाजवाद हुँदै शोषणदमन, उत्पीडनबाट मुक्त र स्वतन्त्र साम्यवादी व्यवस्था हो। सामन्तवाद, नवऔपनिवेशिक पूँजीवाद, साम्राज्यवाद सबै जनताको स्वतन्त्रता र समानताका विरोधी दर्शन र पद्धतिहरू हुन् । संसारका करोडौँ उत्पीडित मुक्तिप्रेमी जनताले उच्च मानवसभ्यता समाजवादको अभ्यास गरिसकेको अवस्थामा सम्पूर्ण न्यायप्रेमी जनतालाई वैज्ञानिक समाजवादी जनक्रान्तिको मार्गमा लामबद्ध र अग्रसर हुन, सामन्ती राजतन्त्र र नवऔपनिवेशिक पूँजीवादी दलाल संसदीय व्यवस्थाका विरुद्ध आफ्नो विवेक, शक्ति र ऊर्जालाई केन्द्रित गर्न आह्वान गर्दछौँ।
अन्त्यमा पुनरुत्थानवादी शक्तिहरुबाट भएको सञ्चारकर्मी, सञ्चारगृह, निजी-सार्वजनिक सम्पत्तिमाथिको तोडफोड, आगलागी र प्रतिगमनका लागि गरिएको दुरुत्साहन निन्दनीय छ । जनताले वैज्ञानिक समाजवादी जनक्रान्तिको बाटोबाट इतिहासका सम्पूर्ण कुटाकर्कटहरूको अन्त्य गर्दै नयाँ र सभ्य संसारको निर्माण गर्नेछन्`।