२०८१ चैत्र १६ काठमाडौं ।राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठक आज बसेको छ् । बैठकले हिजो दुर्गा प्रर्साईको नेतृत्वमा राजावादीहरुले आयोजना गरेको कार्यक्रमको क्रममा तिनकुने कोटेश्वर एरियामा भएको घट्ना बर्तमान केपि ओलि सरकार रहेको प्रेस विज्ञप्ति जारी गरेको छ् । प्रेस विज्ञप्तिमा भनिएको छ:

´राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बसेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा राजसंस्था, हिन्दु राष्ट्रको पुनर्स्थापना, संघीयताको खारेजी लगायतका माग राखी चैत १५ गते काठमाडौंमा प्रदर्शनका क्रममा भएको घटनाका सम्बन्धमा देहायका निर्णयहरू भएको छः

हिजो तिनकुने र आसपासका क्षेत्रमा भएको घटनाप्रति राप्रपा दुःख व्यक्त गर्दछ।

जसले जुन उद्धेश्यका लागि आगजनी, तोडफोड र हिंसात्मक गतिविधि गरेको भएपनि निन्दनीय छ। राप्रपा हिंसाको विपक्षमा छ, हिंसात्मक गतिविधि स्विकार्य हुन सक्दैन ।

हिजोको घटना निम्त्याउन सरकार प्रमुख रुपमा जिम्मेवार छ। हिजोको प्रदर्शनमा सादा पोशाकमा हतियारसहितका व्यक्तिहरूको परिचालन, आन्दोलनकारीमाथि ताकेर प्रहार, जबर्जस्ती धरपकड, शान्तिपूर्ण रुपमा सभा शुरु हुनैलाग्दा निजी घरको छतबाट समेत मञ्चमा अश्रुग्यासको प्रहार, म्याद गुज्रिएका अश्रुग्यासको प्रयोग, प्रदर्शनकारीलाई गोली प्रहार गर्नुपर्ने अवस्था नहुँदापनि ताकी ताकी गोली प्रहार जस्ता कार्यबाट घटनामा राज्यको संलग्नता ठहर हुन्छ।

सञ्चार गृह, दलको कार्यालय, निजी तथा व्यवसायिक भवन लगायतका स्थलहरुमा तोडफोड हुँदैगर्दा सुरक्षा दिन नसकेको, आगलागी भएको स्थलबाट पत्रकारलाई जोगाउन सक्ने अवस्था हुँदाहुँदै उद्धार गर्न चुकेको र प्रधानमन्त्रीको अघिल्लो दिन प्रत्याक्रमण गर्न दिएको अभिव्यक्ति समेत हिंसा भड्काउन जिम्मेवार रहेको राप्रपाको ठम्याइ छ।

राप्रपा यस घटनाको स्वतन्त्र र निश्पक्ष न्यायिक आयोग गठन गरी छानविन गर्न माग गर्दछ। यस कार्यमा राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय एवं अन्तराष्ट्रिय मानवअधिकारवादी संघसंस्था, नागरिक समाजलाई घटनाको अध्ययन गर्न र यथार्थ विवरण ल्याउन आग्रह गर्दछ।

प्रदर्शनका क्रममा ज्यान गुमाउन पुगेका कीर्तिपुरका सबीन महर्जन र एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकप्रति राप्रपा श्रद्धाञ्जली अर्पण गर्दछ।

दिवंगत महर्जन र पत्रकार रजकलाई शहीद घोषणा गर्न र परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न राप्रपा माग गर्दछ।

घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनाका साथै, घाइतेहरुको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न राप्रपा सरकारसंग माग गर्दछ।

आन्दोलनका क्रममा पक्राउ पर्नुभएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्र, महामन्त्री डा. धवल शमशेर राणा, अधिवक्ता स्वागत नेपाल लगायत सबैको अविलम्ब तत्काल रिहाइका लागि राप्रपा सरकारसंग माग गर्दछ। तत्काल रिहा नगरिएमा राप्रपा आन्दोलनमा उत्रनेछ।

राजालाई जबर्जस्ती विवादमा ल्याउने र राजनीतिमा तान्ने कार्यको राप्रपा निन्दा गर्दछ।

पूर्वघोषित चैत २६ गते काठमाण्डौंमा हुने वागमती प्रदेशस्तरीय प्रदर्शन र आमसभा तथा वैशाख ७ गते हुने राजधानी केन्द्रीत आन्दोलनको उच्च मनोबल सहित तयारीमा जुट्न पार्टी पंक्ति र समान विचार भएका दल, समूह, अभियान, धार्मिक संघसंस्था र आम जनसमुदायलाई राप्रपा हार्दिक अपील गर्दछ`।