२०८१ चैत्र ९ काठमाडौं । “भूतपूर्व सैनिक सम्मेलन-२०८१” अन्तर्गत मिति २०८१ चैत्र ०८ गते कर्णाली प्रदेशको मुख्य केन्द्र सुर्खेत लगायत विभिन्न जिल्लाहरूमा बसोबास गर्ने भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाहरूको सहभागितामा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनमा सम्बोधन गर्दै प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले भूतपूर्व सैनिक सम्मेलनले बहालवाला र अवकाशप्राप्त सैनिकहरू बिच पुनर्मिलनको अवसर प्रदान गर्नुको साथै एक आपसमा अनुभवहरू साट्ने र सामीप्यको भावना थप जागृत गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो । उहाँले विद्यमान कल्याणकारी सुविधाहरू विकेन्द्रित, परिणाममुखी र आत्मनिर्भर बनाउँदै सम्पूर्ण हिताधिकारीहरुको जीवनस्तर उकास्नेतर्फ नेपाली सेना प्रयत्नशील रहेको जानकारी गराउनु भएको थियो।

सम्मेलनमा बाँके निवासी ८७ (सतासी) वर्षीय हुद्धा भक्त बहादुर गुरुङ्ग (अ.प्रा.) र सुर्खेत निवासी ९६ (छयानब्बे) वर्षीय एकल महिला श्रीमती अमृता सलामी मगरलाई ज्येष्ठ भूतपूर्व सैनिक सम्मान गरिएको थियो । यस्तै, सर्वोत्कृष्ट/उत्कृष्ट उद्यमी/व्यवसायीहरू सुर्खेत निवासी हुद्धा कृष्ण बहादुर रमौली (अ.प्रा.) र स्वर्गीय सिपाही कुल बहादुर घर्ती (अ.प्रा.) की जाजरकोट निवासी एकल महिला श्रीमती शोभा बि.सी.लाई प्रशंसा-पत्र एवं पुरस्कार वितरण गरिएको थियो । सोही क्रममा चार वा सो भन्दा बढी सन्ततिहरू नेपाली सेनामा रहेका ३ (तीन) जना अभिभावकहरूलाई सम्मान, फरक क्षमता भएका तथा अशक्त १० (दश) जनालाई व्हिल चेयर, बैसाखी तथा आर्थिक सहयोग वितरण गरिएको थियो । त्यसै गरी, कल्याणकारी कार्यक्रमहरू मार्फत भूतपूर्व सैनिकहरू, आश्रित परिवार एवं बहालवाला सैनिक परिवारजनलाई स्वरोजगार बनाई आर्थिक रूपले आत्मनिर्भर र स्वावलम्बी बनाउन नेपाली सेना कल्याणकारी बोर्डले नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कसँगको सहकार्यमा सञ्चालन गर्दै आएको सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तरगत ५(पाँच) जना उद्यमी व्यवसायीहरूलाई उद्यमशील कर्जाको चेक हस्तान्तरण गरिएको थियो ।

भूतपूर्व सैनिक सम्मेलनको प्रण – सैनिक पुनर्मिलन, हिताधिकारीको कल्याण/कोषको दिगोपन भन्ने मूल सन्देशका साथ सञ्चालन भएको सम्मेलनमा नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत रथी श्री गौरव तण्डुल (अ.प्रा.) ले स्वागत मन्तव्य तथा श्री उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी श्री अनुप जंग थापाले धन्यवाद मन्तव्य राख्नु भएको थियो । त्यस अवसरमा भू.पू. सैनिकहरूको तर्फबाट मार्चपाष्ट लगायत विविध सांस्कृतिक झाँकी र सैनिक ब्यान्डको प्रस्तुति गरिएको थियो।

समारोहमा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द, रक्षा मन्त्रालयका प्रतिनिधि, कल्याणकारी कोष व्यवस्थापन समितिका पदाधिकारीहरू, अन्य सुरक्षा निकायका पदाधिकारीहरू, नेपाल इन्भेस्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत, बहालवाला एवं अवकाश प्राप्त सैनिक तथा परिवारहरूका साथै सञ्चारकर्मीहरूको उपस्थिति रहेको नेपाली सेनाको समचारमा उल्लेख छ।

← Back

Thank you for your response. ✨