२०८१ चैत्र ४ काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आफु सेवाबाट अवकाश हुँदै गर्दा सवै नेपाली नागरिक, नेपाल प्रहरीका सकल दर्जा, नेपाल शरकार, गृह मन्त्रालय लगाएतलाई धन्यवाद दिए छन् । सेवाबाट अवकाश हुँदै गर्दा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले लेखेको धन्यवाद पत्रमा के लेखिएको छ ?

´नेपाल प्रहरी संगठनमा तीन दशक अविच्छिन्न सेवा पश्चात् आज प्रहरी महानिरीक्षकको पदबाट सेवानिवृत हुँदैछु। नेपाल प्रहरी जस्तो गौरवशाली संगठनको सदस्य भई देश र जनताको सेवा गर्ने अवसर पाएकोमा म गौरवान्वित छु। सेवाबाट अवकाश हुन लागेको यस क्षणमा नेपाल सरकार, आम नेपाली नागरिक र समस्त नेपाल प्रहरी संगठन प्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछु।

यस अवसरमा विभिन्न समय र परिस्थितिमा कर्तव्यपालना गर्दै गर्दा मृत्युवरण हुनु भएका अमर प्रहरीहरू प्रति हार्दिक श्रद्धा-सुमन व्यक्त गर्दछु । कर्तव्यपालनका क्रममा अस्वस्थ रहनुभई उपचाररत् प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछु। यस अवसरमा नेपाल प्रहरीको श्रीवृद्धिमा महत्वपूर्ण योगदान गर्नुहुने अग्रजहरूलाई उच्च संम्मान सहित स्मरण गर्न चाहन्छु।

मेरो कार्यकाल संविधान र प्रचलित कानून प्रदत्त जिम्मेवारीलाई ईमान्दारीपूर्वक निर्वाह गरी नागरिकमा कानूनी राज्यको प्रत्याभूति हुने सेवा प्रवाहको मूल दायित्व बहन गर्दै मानव अधिकारको रक्षा तथा उच्च सम्मान र निष्पक्ष कानून कार्यान्वयनका क्रममा कसूरको प्रमाणमुखी अनुसन्धान गर्दै अवाञ्छित गैरकानुनी गतिविधिलाई नियन्त्रण र निस्तेज पारी मुलुकको समग्र शान्ति सुरक्षाको अवस्था सुदृढ तुल्याउने प्राथमिकतामा रह्यो।

नेपाल प्रहरी संगठनको नेतृत्वदायी भूमिकामा रहँदा यस अवधिमा शान्ति सुरक्षा, अपराध रोकथाम नियन्त्रण तथा अनुसन्धान, मानवीय एवम् प्राकृतिक विपत्ति लगायत विविध क्षेत्रमा सुरक्षा चुनौतीहरू देखा परे। संगठनका सकल दर्जाले अपराध अनुसन्धान र प्रहरी कारबाहीको क्रममा देखाएको व्यावसायिकता, सुरक्षा संवेदनशीलता, कर्तव्यभाव र निष्ठाकै कारण हामी ति सबै चुनौतीहरू सामना गरि कार्यसम्पादन गर्न सक्षम भएका हौं। यस योगदानका लागि यहाँहरू सबैलाई सहर्ष धन्यवाद दिँदै संवेदनशील घडीमा हामी बीचको आपसी एकता, धैर्यता र स्व-अनुशासनका साथ नागरिक सेवामा खटिदै यस गरिमामय र गतिशील संगठनको साख श्रीवृद्धि र विश्वसनीयता अक्षुण्ण राख्न समेत आग्रह गर्दछु।

संगठनको संस्थागत विकास, प्रहरी कर्मचारीका लागि वृत्ति विकास र क्षमता अभिवृद्धि तथा संगठन‌लाई साधन श्रोत सम्पन्न तुल्याउन समयसापेक्ष कानून तथा नीति नियम निर्माण र परिमार्जन, थप सेवा सुविधा, प्रहरी कार्यहरूमा प्रविधिको प्रयोग तर्फ उल्लेखनीय पहलकदमी र शुरुवात भएका छन्। लामो समयदेखि रोकिएको यु.एन. एफ.पि.यु, मिसनलाई पुनः सुचारु गर्ने मेरो प्रयत्नबाट निकट भविष्यमा नेपाल प्रहरीका अधिकृत तथा जवानहरूले संयुक्त राष्ट्रसंघीय मिसनमा सहभागी हुने अवसर पाउनेछन् भन्ने आशा गरेको छु।। यहाँहरूले निर्वाह गर्नुभएको व्यावसायिकता र निष्ठाले नेपाल प्रहरीको गरिमा उच्च बनाएको छ। भविष्यमा समेत नेपाल प्रहरीलाई देश र जनताको सेवामा समर्पित मुलुकको उत्कृष्ट संगठनको रूपमा नेपाल प्रहरीलाई स्थापित गराउन सत्प्रयास गर्नुहुने नै छ भन्ने पूर्ण विश्वासका साथ यहाँहरूको सफल व्यावसायिक जीवनको शुभकामना समेत दिन चाहन्छु`।