२०८१ चैत्र ४ काठमाडौं । राष्ट्रिय सुरक्षा र बृहत्तर राष्ट्रिय हितका आयामहरूबारे ज्ञान र बुझाई आदानप्रदान गर्ने उद्देश्यले चैत्र ३ गतेबाट सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सुरु भएको छ ।

कार्यक्रमको शुभारम्भ गर्नु हुँदै प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले यस प्रकारका तालिमहरूबाट राष्ट्रिय सुरक्षाका चुनौती, खतरा तथा विविध पक्षहरूबारे सम्बन्धित सबै सरकारी तथा गैह्र सरकारी पदाधिकारीहरू बिच साझा बुझाई, आपसी साझेदारी र सहयोग तथा समन्वयका क्षेत्रहरू फराकिलो बनाउन ठुलो मद्दत पुग्नेमा विश्वास व्यक्त गर्नु भयो । उहाँले आफ्नो जमिनी परिस्थिति, देशको अवस्थिति र सामाजिक वातावरण अनुसार सुरक्षा अवधारणाहरू तय गर्नुपर्ने कुरामा जोड दिनु भयो ।

समारोहमा आफ्नो मन्तव्य राख्नु हुँदै रक्षा सचिव श्री रामेश्वर दंगालले उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिमको विशिष्ट महत्त्व, आवश्यकता र उपादेयता बारे प्रकाश पार्नु भयो ।  उहाँले विश्व रणनीतिक वातावरणमा देखिएका विभिन्न किसिमका सुरक्षा चुनौतीहरूको प्रभावलाई विश्लेषण गरी राष्ट्रिय हितहरूलाई प्रवर्द्धन गर्न देशका सबै शक्तिहरूको सर्वोपरि प्रयास र भूमिका आवश्यक रहेको बताउनु भयो ।

रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा सञ्चालन हुँदै आएको यस तालिमको दशौँ संस्करण मिति २०८१ चैत्र १८ गतेसम्म सञ्चालन हुनेछ । तालिममा विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सञ्चारजगत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागबाट कुल २९ जनाको सहभागिता रहेको छ । वि.सं.२०७२ सालबाट सुरु भएको यस तालिमबाट हालसम्म २२३ जना प्रशिक्षित भई सकेका छन् ।

समारोहमा बलाध्यक्ष रथी श्री प्रदीप जंग के.सी., विभिन्न मन्त्रालयका पदाधिकारीहरू, रथीवृन्द, अन्य सुरक्षा निकायका प्रतिनिधिहरु, अधिकृत र सञ्चारकर्मीहरूको उपस्थिति रहेको नेपाली सेनाको समाचारले उल्लेख गरेको छ ।